सिसहनियाँ महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन
सिसहनियाँ १४ कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी सिसहनियाँमा सञ्चालन हुन लागेको महोत्सवलाई व्यवस्थित बनाउन उपसमिति गठन गरिएको छ ।
सिसहनियाँ उद्योग वाणिज्य संघले यहि पुस २५ देखि माघ ७ गते सम्म सञ्चालन गर्न लागेको दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सवलाई व्यवस्थित तथा मर्यादित तरिका सञ्चालन गर्नका लागि जिम्मेवारी तोकेर उपसमिति गठन गरेको छ । संघको हालै बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको हो । जस अनुसार संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको संयोजकत्वमा मुल आयोजक समिति, संघका सदस्य जिवन अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति, पत्रकार ओमप्रकाश गुप्ताको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, कोषाध्यक्ष भिमबहादुर चौधरीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, पुर्व अध्यक्ष शान्तराज भण्डारीको संयोजकत्वमा सरसफाई उपसमिति, सदस्य प्रशान्त बसेलको संयोजकत्वमा स्वम्सेवक उपसमिति लगायत विभिन्न उपसमिति गठन गरेको संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
बैठकले महोत्सव अवधीभरका लागि पत्रकार सन्तोषकुमार गुप्तालाई प्रेस संयोजकमा राख्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले मुख्य प्रयोजक, सहप्रायोजक र प्रायोजकको मुल्य निर्धारण गरेको छ । जस अनुसार १ लाख देखि माथि सहयोग गर्नेलाई मुख्य प्रयोजक, ५० हजार देखि माथि सम्म सहयोग गर्नेलाई सहप्रायोजक र १० हजार देखि माथि सहयोग गर्नेलाई प्रायोजकमा राख्ने निर्णय गरेको छ ।
यस्तै महोत्सवको उद्घाटनका दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने झाँकीहरुलाई क्रमस १५ हजार, १० हजार, ५ पुरस्कार र ३ हजार प्रदान गरिनुको साथै झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप २–२ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । २ करोड बराबरको कारोवार गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
१२ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा झुला, चर्खे पिङ, बाल उद्यान समेत रहने बताइएको छ ।
महोत्सवमा १५० बढी स्टल रहने र त्यस मध्ये १० वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहने छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिएका छन् । महोत्सवको तयारीका लागि यति बेला राप्ती गाउँपालिकाबाट सिफारिस लिई जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमती लिए लगत्तै फिल्डमा माटो फिलिङ, तारबार गर्ने तथा स्टल निमार्णको काम सुरू भइसकेको संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।