दाङकाे भालुवाङमा बालिका बलात्कार गरेकाे आराेपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ



दाङकाे भालुवाङमा बालिका बलात्कार गरेकाे आराेपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ

भालुवाङ ८ कार्तिक । दाङकाे भालुवाङमा नाबालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोकमा रहेकाे सशस्त्र प्रहरी वल ज्वालामाई गण २९ नम्बर हेटक्वाटरको कार्यालय बाहिर दशैँ पिङ खेल्न गएकाे बेला सशस्त्र प्रहरीका दुई हवल्दारले दुई बालिकालाई बलत्कार गरेकाे तथ्य बाहिर आएकाे छ ।

गत असोज २४ गते भालुवाङ पुल्चाेक बजारमा डेरा गरी बस्ने ८ बर्षिय र आर्काे १४ बर्षीय बालिका पिङ खेल्न गएकाे अवस्थामा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगरले बलात्कार गरेको पिडित पक्षकाे जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आराेपित दुई सहायक हवल्दारलाई नेपाल प्रहरीकाे जिम्मा लगाईएकाे सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । दशैकाे फुलपातीका दिन पिङ खेल्न गएका ती दुई बालिकालाई २९ न. ज्वालामाई गणमा कार्यरत उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले अरोप लगाएका थिए ।

सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाहा पाएर स्थानीयले बुधबार गणलाई समेत घेराउ गरेका थिए । यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक-पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरेपनि ढाकछोप गर्न खोजिरहेका बताईएकाे छ । असोज २४ गतेदेखि ढाकछोप गरेर राखेको कारण उनीहरु पक्राउ पर्न ढिलाई भएको थियो । तर, स्थानीयको आरोपपछि आरोप लागेका दुबैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता थापाले बताए । उनले घटनाबारे थप अनुसन्धान सुरु भएको पनि जानकारी दिए । यसैबीच प्रकाउ परेका सशस्त्र प्रहरीका दुई हवल्दारलाई दाङ-देउखुरी जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनकाे म्याद थप गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

यता बलात्कार जस्तो विषयमा बेवास्ता गरेको भन्दै गणका एसपी थापा विवादमा परेका थिए । उनी सिरहाको एसपी हुँदा पनि विवादमा परेका थिए । सिराहामा हुँदा उनी चढेको स्कारपियो गाडीले भारतीय भूमिमा भारतीय नागरिकलाई ठक्कर दिएर विवादमा आएका थिए । अहिले पनि आफ्नै कर्मचारीमाथि लागेको आरोपलाई ढाकछोप गर्न लागेपछि एसपी थापा बिबादित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे