समाजवादको खुल्ला बहस गर्न नेकपा महासचिव विप्लवको आव्हान



समाजवादको खुल्ला बहस गर्न नेकपा महासचिव विप्लवको आव्हान
भालुवाङ ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लव सीले समाजवादको खुल्ला बहस गर्न सबैलाई आव्हान गर्नु भएकाे छ । नेकपा दाङले  देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेल्ने खतरा बढेको बताउनुभयाे ।
महासचिव विप्लवले राज्य मुठ्ठीभरका दलाल पुजीपति वर्गको भएको भन्दै हालको राज्य व्यवस्थाले किसान मजदुरको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गरे । हालको सत्ताले किसान, सुकुम्बासी, जनजाति, महिला, बिधार्थीहरुको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताउनुभयाे ।
उहाँले अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक  नफेरिने बताउदै विप्लवले नेपाली राजनीति अस्थिरता तर्फ धकेल्न अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको समेत बताए। ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति र नेतृत्व ’बिषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले जनतालाई परिवर्तनको आभास दिन नसकेर दलहरू बीच आपसी मतभेद र विवाद बढाउदै लगिएको बताउनुभयाे । उहाँले राज्य संयन्त्र कमजोर बन्दै जाँदा जनताका आधारभूत समस्या समेत हल गर्न नसकेको बताउँदै विप्लवले राज्यले कानुन र विधिका नाममा जनतालाई अनावश्यक हैरानी थोपर्ने काम गरेको समेत बताउनुभयाे ।
महासचिव बिप्लबले जनतामा निराशा र नकारात्मकता बाड्दै ल‌ैजाने काम चर्किएको बताउदै उहाँलेे विकल्प सहितको समाधान समाजवाद भएको टिप्पणी गरेका छन् । नयाँ पुस्तामा राष्ट्र र परिवारप्रति गम्भीर र जिम्मेवार बन्दै सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्न समेत अनुरोध गर्नुभयाे । विप्लवले जनपक्षीय र प्रगतिशील व्यवस्थाको विकल्प राजतन्त्र नहुने दाबी गर्दै कतिपयले राजनीतिक चेत गुमाएर अनावश्यक लहडमा लागेको भन्दै विप्लवले आफ्नो योगदान र त्यागले प्राप्त उपलब्धिलाई बदनाम हुन नदिनुका साथै समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयाे ।
विप्लवले वर्तमान संङकटको समाधान समाजवाद भएको भन्दै लोकतान्त्रिक र बामपंथी सबै शक्तिहरु समाजवादका पक्षमा लाग्नुपर्ने र खुला बहस चलाउनुपर्ने बताउनुभयाे । न्युनतम समाजवादी आधार तयार गर्नुपर्ने भन्दै विप्लवले सर्वपक्षीय छलफल मार्फत त्यो आधार तयार गर्नुपर्ने समेत बताउनुभयाे  ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, नेकपाका स्कुलिङ विभाग प्रमुख भेषराज सी, पार्टीका पिबिएम शितल सी लगाएत विभिन्न राजनीतिक दल, नागरिक समाज , मानवअधिकारकर्मी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियाे । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गर्नु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे