बलात्कृत बालिकाको न्यायको माग गर्दै राप्तीका बजार र सडक ३ घण्टा बन्द, दोषी पक्राउ नगरिए कडा आन्दोलन गर्ने



बलात्कृत बालिकाको न्यायको माग गर्दै राप्तीका बजार र सडक ३ घण्टा बन्द, दोषी पक्राउ नगरिए कडा आन्दोलन गर्ने

भालुवाङ ६ कार्तिक । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै मंगलबार राप्ती गाउँपालिका क्षेत्रका बजार र सडक ३ घण्टा सडक बन्द गरेको थियो ।

संघर्ष समितिका अध्यक्ष सुरज खड्काको नेतृत्वमा संघर्ष समिति र स्थानीयहरूले बजार क्षेत्र र लमही- भालुवाङ, भालुवाङ- प्युठान र भालुवाङ- कपिलवस्तु सडक खण्ड ३ घण्टा बन्द गरेका हुन् । आन्दोलनरत पक्षले बजार र सडक बन्द गर्दा ३ घण्टा सम्म भालुवाङ क्षेत्र तनावग्रस्त भएको थियो । आक्रोशित आन्दोलनरत पक्षले भालुवाङ पुल्चोक बजारमा दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए । स्थानीय र पीडित पक्षले घटना ढाकछोप गर्ने प्रयास भइरहेको दाबी गरेका छन् । घटना भएको १३ दिन बितिसक्दा पनि प्रहरीले संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि प्रहरीकै भूमिकामा शंका उत्पन्न भएको स्थानीयहरुको भनाइ छ ।

छिटो भन्दा छिटो घटनामा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै संघर्ष समितिका उपसंयोजक प्रकाश शाही र राप्ती उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्माले माग गर्नु भएको छ । घटनामा संलग्नलाई तत्काल अनुसन्धान गरि पक्राउ गर्न ढिलाई गर्दा कतै निर्मलाको जस्तो केश बनाउने त होइन भन्ने चिन्ता व्यक्त गर्दै उनीहरूले अनुसन्धानमा नेपाल प्रहरी किन असफल भइरहेको बताउँदै यथाशीघ्र दोषी पत्ता लगाई कारवाही नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

कोणसभालाई पत्रकार सन्तोष कुमार गुप्ता, बासुदेव न्याैपाने, अशोक बेल्वासे, सुरज खड्का, निर्मला केसी लगायतका वक्ताहरूले बोलेका थिए । सशस्त्र प्रहरी क्याम्प नजिक बनाइएको पीङ खेल्न गएकी आठ वर्षीया बालिका बलात्कारमा परेको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिका सँगै रहेकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि भन्दै १३ दिनदेखि कार्यालयमै राखेको छ । दुबै बालिकासँग घटनाको बारेमा जानकारी लिने र शंकास्पद व्यक्तिहरुसँग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ ।

‘पीडित बालिका प्रहरीको संरक्षणमा हुनुहुन्छ । उहाँसँग रहनुभएकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरी कार्यालयमा राखेका छौं । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ’– जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले भन्नुभयो– ‘यो घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको छ । सिआईविको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।’

तीन दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीको टिमले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने चेतावनी दिइएको छ ।

‘प्रहरी कार्यालयसँग निरन्तर छलफल गरिरहेका छौं । तर प्रहरीले अझैसम्म संलग्न व्यक्ति पहिचान गर्न नसक्नु दुःखको कुरा हो । बालिकाको न्यायको लागि हामीले सार्वजनिकरुपमा दबाब सिर्जना गर्न थालेका छौं’– राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सुरज खड्काले भन्नुभयो– ‘के कारणले हो अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसक्नु ? हामीले थालेको संघर्ष न्यायको संघर्ष हो ।’ घटनाको सत्यतथ्य छानबिन गर्न माग राखिएको छ ।

यसै बीच संघर्ष समितिले कार्तिक ७ गते मध्याह्न १२ बजे देखि प्ले कार्ड सहित नारा जुलुस सहित बजार परिक्रमा गरि कृष्णसेन इच्छुक चोकमा दिउँसो १ बजे देखि ३ बजे सम्म कोणसभा गर्ने र सडक बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कार्तिक ८ गते मध्याह्न १२ बजे देखि ४ बजे सम्म सडक बन्द गर्ने र बेलुका ६ बजे देखि राँके जुलुस निकाल्ने निर्णय गरेको संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिएका छन् ।

गत असोज २४ गते साँझ भालुवाङ स्थित शसस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने ८ वर्षिय बालिका बलात्कृत भएकी थिइन् । घटना घटेको १२ दिन भन्दा बढी भइसक्दा समेत प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेपछि भालुवाङ क्षेत्रमा क्रियाशील विभिन्न राजनीतिक दल, मानवअधिकारकर्मी, सञ्चारकर्मी, संघसंस्था र युवा तथा बौद्विक व्यक्तित्वहरूको एक बृहत भेलाले संघर्ष समिति गठन गरी आन्दोलन गर्न सुरु गरेको छ ।

यसै बीच मानवअधिकारकर्मी तथा विभिन्न संघ संगठनले जारी आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै दोषीलाई तत्काल पक्राउ गरि कडा कारवाही गर्न माग गर्दै विज्ञप्ति समेत जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे