बलात्कृत बालिकाको न्यायको माग गर्दै भालुवाङमा १ घण्टा सडक बन्द



बलात्कृत बालिकाको न्यायको माग गर्दै भालुवाङमा १ घण्टा सडक बन्द
भालुवाङ ५ कार्तिक । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै  संघर्ष समितिले सोमबार लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकमा १ घण्टा सडक बन्द गरेको छ।
संघर्ष समितिका अध्यक्ष सुरज खड्काको नेतृत्वमा  संघर्ष समिति र स्थानीयहरूले सडक बन्द गरेका हुन् । सडक बन्दपछि आयोजित कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले घटना घटेको १२ दिन बितिसक्दा समेत प्रहरीले  घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको र दोषीलाई संरक्षण गर्न थालेको भन्दै आक्रोश व्यक्त गरेका थिए । घटनामा संलग्नलाई तत्काल अनुसन्धान गरि पक्राउ गर्न ढिलाई गर्दा कतै निर्मलाको जस्तो केश बनाउने त होइन भन्ने चिन्ता व्यक्त गर्दै यथाशीघ्र दोषी पत्ता लगाई कारवाही गर्न माग गरेका छन् ।
कोणसभालाई संघर्ष समिति अध्यक्ष सुरज खड्का, राप्ती उद्योग वाणिज्य संघका महासिचव बासुदेव न्याैपाने, आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, पत्रकार महेश रिजाल,  निर्मला केसी लगायतका वक्ताहरूले बोलेका थिए । यसै बीच साेमवार बसेको संघर्ष समितिको बैठकले भोलीबाट आन्दोलनलाई थप कडाइका साथ लैजाने निर्णय गरेको छ । बैठकले कार्तिक ६ गते राप्ती गाउँपालिका भरिका सम्पुर्ण बजार विहान ७ बजे देखि १ बजे सम्म बन्द गर्ने । त्यसै गरि सोही दिन दिउँसो १२ बजे देखि ३ बजे सम्म पुर्व पश्चिम राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कार्तिक ७ गते मध्याह्न १२ बजे देखि प्ले कार्ड सहित नारा जुलुस सहित बजार परिक्रमा गरि कृष्णसेन इच्छुक चोकमा दिउँसो १ बजे देखि ३ बजे सम्म कोणसभा गर्ने र सडक बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कार्तिक ८ गते मध्याह्न १२ बजे देखि ४ बजे सम्म सडक बन्द गर्ने र बेलुका ६ बजे देखि राँके जुलुस निकाल्ने निर्णय गरेको संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिएका छन् ।
बैठकमा समितिका सदस्यहरु, पिडित परिवार, संघसंस्थाका प्रमुख र पत्रकारहरुको उपस्थिती रहेको थियो । बैठकको सहजीकरण संघर्ष समितिका सदस्य राजकुमार आचार्यले गरेका थिए । गत असोज २४ गते साँझ भालुवाङ स्थित शसस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने ८ वर्षिय बालिका बलात्कृत भएकी थिइन् । घटना घटेको १२ दिन भन्दा बढी भइसक्दा समेत प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेपछि भालुवाङ क्षेत्रमा क्रियाशील विभिन्न राजनीतिक दल, मानवअधिकारकर्मी, सञ्चारकर्मी, संघसंस्था र युवा तथा बौद्विक व्यक्तित्वहरूको एक बृहत भेलाले संघर्ष समिति गठन गरी आन्दोलन गर्न सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे