भालुवाङमा सडक दुर्घटना सम्बन्धि कृतिम अभ्यास
भालुवाङ १२ असोज । दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ ।
सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न शनिबार भालुवाङमा पूर्व अभ्यास गरिएको हो । अभ्यासमा राप्ती गाउँपालिका-१ भालुवाङ फेयरीखोलामा यात्रु बाहक बस दुर्घटना भएको हुन्छ । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, रेडक्रस तथा स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिन्छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियता हुन्छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यदि कुनै दुर्घटना भइहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्न सक्ने बताए । विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको उनले बताए ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जुनसुकै समयमा विपद्का घटना हुने भएकाले सम्बन्धित निकाय सदैव तयारी अवस्थामा रहनुपर्ने बताए । कुनै पनि विपद्का घटना थाहा दिएर तथा बाजा बजाएर आउँदैनन्, तर सडक दुर्घटना भने लापरबाहीले नै बढी हुने गरेका छन्, त्यसैले यस्ता अभ्यासको ठुलो महत्त्व छ उनले भने । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना एवम् सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाईको समन्वयमा गरिएको कृतिम अभ्यासमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेल र गणपति रमेश कुमार थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।