समतामूलक समाज निर्माणका लागि शिक्षामा समान पहुँच आवश्यक छ : सांसद थारु
मसुरीया २ असाेज। लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले समतामूलक समाजको निर्माणका लागि सबैलाई शिक्षामा समान पहुँच आवश्यक रहेको बताएका छन्।
बुधबार राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा दाङको राप्ती गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस मूल समारोहलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य थारुले शिक्षा प्रत्येक व्यक्तिको मौलिक अधिकार भएकाले समतामूलक समाजको निर्माणका लागि सबै वर्ग, समुदाय र क्षेत्रका बालबालिकाहरूलाई शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा बताए । देशको समग्र विकासका लागि साक्षरता, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइकाे विकल्प नभएकाे उल्लेख गर्दै संसद थारुले गुणस्तरीय शिक्षा नै राष्ट्रको प्रगतिको आधार भएको बताए । त्यस्तै उनले शिक्षा प्रणालीलाई थप सुधार गर्दै आम नागरिकलाई शिक्षित र सशक्त बनाउनु नै आजको आवश्यकता रहेको औल्याएका छन् ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षाको स्तरीयतामा ध्यान दिनुपर्ने बताएका छन्। “हाम्रो पालिकामा हरेक बालबालिका शिक्षाको पहुँचमा रहनुपर्छ र आधुनिक प्रविधिसँगसँगै शिक्षा प्रणालीलाई सुधार गर्दै नयाँ पुस्तालाई सक्षम र आत्मनिर्भर बनाउनु पर्दछ”,अध्यक्ष विष्टले भने,-” त्यसका लागि गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। ” राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सांसद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाले मंगलबार आयाेजना गरेकाे आधारभूत र माध्यमिक तहका विद्यार्थीहरु बीच छुट्टाछुट्टै निबन्ध, वक्ततृत्वकला, कविता र चित्रकला प्रतियोगिताका बिजेता प्रतियोगी विद्यार्थीहरुलाई बुधबार राष्ट्रिय शिक्षा दिवस मूल समारोका अवसरमा क्रमश नगद ४ हजार, ३ हजार, २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको छ।
त्यस्तै गाउँपालिकाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिई विभिन्न पदक बिजेता पालिकामा भित्रका तीन जना खेलाडीहरुलाई समेत सम्मान गरेको छ। केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ५५ केजी कुमुतेमा प्रथम हुन सफल राप्ती गाउँपालिका वडा नं. ८ का विष्णा रेश्मी मगर,अन्डर ट्वान्टी साफ फुटवल खेलमा सहभागी भई द्वितीय हुन सफल वडा नं. २ का विशाल केसी र मिस्टर युनिभर्सल, मिस्टर एसिया, मिस्टर इन्डिया लगायतका प्रतियोगितामा सहभागी वडा नं. १ का बडि बिल्डर माधव सुवेदीलाई नगद २/२ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको हाे। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्य,गाउँ शिक्षा समितिका सदस्य, शिक्षक, विद्यार्थी, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विककाे विषय प्रवेशबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षा अधिकृत बासुदेव खनालले गरेका थिए।