लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता, १२ औँ मन्त्रीका रुपमा माओबादीकी कृष्णा केसीद्धारा सपथ ग्रहण
भालुवाङ २१ जेष्ठ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छिन् । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्याएको थियो ।
मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूणर्ता दिएका हुन् । मुख्यमन्त्री महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा नियुक्त गरेका हुन्। उनको नियुक्ति सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।
मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैले राखेका थिए । नवनियुक्त मन्त्री केसीले आज सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरेकी छिन् ।
सपथ ग्रहणपछि मन्त्री केसीले आज साेमबार नै पदभार ग्रहण समेत गरेकी छिन् । पदभार ग्रहण गर्दै मन्त्री केसीले प्रदेश भरिका खेतीयोग्य जमिनलाई सिँचाई पुर्याएर उत्पादन बृद्धि तर्फ लाग्ने बताइन् । उनले सिचाई आफ्नो पहिलो प्रथामिकता रहेको समेत बताइन् ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला मन्त्री सहित ५, माओवादीबाट मुख्यमन्त्री सहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १-१ मन्त्री छन् । स्वतन्त्रबाट १ जना मन्त्री भएका छन् । ८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ ।
यसैबीच मुख्यमन्त्री महराले प्रदेश सरकारको महान्याधिबक्ताका रुपमा तिर्थराज ज्ञवालीलाई नियुक्त गरेका छन् । यसैबीच महान्याधिबक्ता ज्ञवालीले समेत आज साेमबार नै देउखुरीको लुम्बिनी हलमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री जाेखबहादुर महराकाे बिशेष उपस्थितीमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नित्यानन्द पाण्डे समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । ज्ञवाली बाँके जिल्ला निवासी हुन् । उनी अधिबक्ताको रुपमा लामो समय देखि काम गर्दै आएका छन् ।