युवा लक्षित नीति तथा कार्यक्रम ल्याउछौँ : मन्त्री खत्री



युवा लक्षित नीति तथा कार्यक्रम ल्याउछौँ : मन्त्री खत्री

नेपालगन्ज १५ जेठ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले एक हातमा उच्च शिक्षाको प्रवेश पत्र र अर्को हातमा बिदेश जाने पासपोर्ट बोक्ने प्रबृत्तिको अन्त्य हुन जरुरी रहेको बताएका छन् ।

सामाजिक बिकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदले नेपालगन्जमा आयोजना गरेको योजना तर्जुमा प्रक्रियामा युवाको सवाल विषयक कार्यशालामा बोल्दै मन्त्री खत्रीले मुलुक भित्रै युवाले भविश्य देख्ने गरि नीति र कार्यक्रम बनाउने बताए । उनले गाउँका दुरदराजमा बालबालिका र बृद्धहरु मात्र रहने संस्कृतिको अन्त्य गर्न तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी दिए । बिगत नदेखेका युवाहरुमा नेपालमा केही भएको छैन भन्ने सोँचको विकास भएको उल्लेख गर्दै उनले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा युवा मैत्री नीति कार्यक्रम आउने बताए । उनले आगामी नीति तथा कार्यक्रममा थोरै बिद्यालय धेरै बिद्यार्थीको नीति ल्याउने र थोरै बिद्यार्थी भएका बिद्यालयहरुलाई मर्ज गरि कार्यक्रम ल्याइने जानकारी दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा. बिनोद ढकालले शिक्षामा विश्वबिद्यालयबाट दिक्षित भए लगत्तै मुलुक बाहीर जाने सोँचको विकास गरिनु नहुने बताए । उनले शिक्षामा स्वदेशमै स्व(रोजगारको विश्वास दिलाउने नीति बन्न आवश्यक रहेको बताउँदै शिक्षाले उद्यमशिलता सिकाए युवामा बिदेश जाने चाहनामा कमी आउने विचार व्यक्त गरे। कार्यशालामा लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द खत्री, सदस्य रिया बस्नेत क्षेत्रीलगायतले राज्यसँग युवा मैत्री नीति नहुँदा युवाहरु बिदेश पलायन हुने गरेको बताएका थिए ।

कार्यशालामा बाकेँका सबै स्थानिय तहबाट १ सय बढिको सहभागी थियो । युवा सम्बद्ध संस्थागत प्रतिनिधित्व गर्ने युवा अगुवाहरुले राज्यले अवलम्बन गर्नुपर्ने युवा नीतिका बारेमा सुझाव दिएका थिए । कार्यशालामा अब बन्दै गरेको प्रदेशको निति तथा कार्यक्रममा युवाका सवल समेट्ने गरी युवाहरुको सुझाब संकलन गरी उठेका बिषयहरुलाई सरकारले संबोधन गर्नेगरी सबै स्थानिय तह र प्रदेश सरकारलाई बुझाउने गरी नेपालगन्ज घोषणापत्र जारी गर्दै आजै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे