भालुवाङ शिवपुराण महायज्ञको आय व्यय सार्वजनिक : ४६ लाखमा ४१ लाख बढी रकम बचत



भालुवाङ शिवपुराण महायज्ञको आय व्यय सार्वजनिक : ४६ लाखमा ४१ लाख बढी रकम बचत

भालुवाङ ३१ वैशाख । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा गत बैशाख १ गते देखि ११ गतेसम्म सञ्चालित शिवपुराण ज्ञान महायज्ञको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।

पोख्रेल परिवारको आयोजना एवम् भालुवाङ शिवालय धार्मिक पर्यटन विकास संरक्षण समितिको व्यवस्थापनमा भालुवाङ शिवालयमा संचालन भएको शिवपुराण ज्ञान महायज्ञको आज पत्रकार सम्मेलनको आयोजना गरि आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो । समितिका सह–अध्यक्ष द्रोणप्रसाद आचार्यले महायज्ञबाट नगद, जिन्सीका र दानपेटीबाट गरी कुल ४६ लाख २ सय ४० रुपैयाँ उठेको जानकारी दिएका छन् । उक्त रकमबाट महायज्ञमा मन्दिर समितिको तर्फबाट ४ लाख २९ हजार ९ सय रुपैयाँ खर्च भएको र संकलित रकमबाट सम्पूर्ण खर्च कटाई मन्दिर व्यवस्थापन समितिले ४१ लाख ७० हजार ३ सय ४० रुपैयाँ बचाउन सफल रहेको सह–अध्यक्ष आचार्यले जानकारी दिएका छन् ।

भालुवाङ शिवालय धार्मिक पर्यटन विकास संरक्षण समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता एवम् आयोजकका तर्फबाट जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि पोख्रेलले महायज्ञ ऐतिहासिक रुपमा यस क्षेत्रको पहिचान झल्कने गरी सफल गराउनु भएको सहयोग गर्ने सम्पूर्ण संघ संस्था तथा भक्तालु भक्तजनहरुलाई धन्यवाद दिएका छन् । ११ दिन सम्म संचालन भएको महायज्ञको सम्पूर्ण खर्च पोख्रेल परिवारले गरेको थियो । भने उक्त महायज्ञबाट संकलन भएको दान तथा भेटी मन्दिर व्यवस्थापन समितिमा राखिएको थियो । उक्त रकमबाट शिव मन्दिरमा धर्मशाला निमार्ण तथा पुल्चोकको माथि डाँडामा हिमालय पर्वत सहित शिवपार्वतीको प्रतिमा निमार्ण गर्ने लक्ष्य लिइएको अध्यक्ष रामप्रसाद उपाध्यायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे