राप्ती गाउँपालिकामा एक वडा एक उद्योग स्थापना गर्दैछौं : अध्यक्ष विष्ट
भालुवाङ ३० वैशाख । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले १ वडा एक उद्योग स्थापनाको अभियानमा लागेको बताएका छन् ।
गाउँपालिकाकाे “राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” भन्ने मुल नाराका साथ उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाको आयोजना एवम् शुभलक्ष्मी ल्यापबोटिज रूपन्देहीको प्राविधिक सहयोगमा आइतबार दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा हाते तानबाट कपडा बुन्ने सम्बन्धि सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । विदेशी कपडाको प्रयोगलाई कम गर्दै स्थानीय स्तरमा उत्पादित कच्चापदार्थबाट नेपाली कपडा उत्पादन गर्न राप्तीका युवा तथा महिलाहरूलाई सुझाव दिनु भएको छ । त्यस्तै अध्यक्ष विष्टले युवा तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा विदेश पलायन हुने युवाहरूलाई रोक्न एक वडा एक उद्योगको अवधारणा ल्याएको बताएका छन् ।
राप्ती गाउँपालिका-१ नम्बर वडा अध्यक्ष गेमबहादुर खड्काको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, राष्ट्रिय युवा परिषद्का केन्द्रीय सदस्य संदिप सापकोटा लगायतका वक्ताहरूले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए । तालिममा वडा नम्बर १ का २३ जना महिलाहरुकाे सहभागीता रहेको छ।