निर्वाचन क्षेत्रमा सिकलसेल अस्पताल निर्माण गर्छुः सांसद चौधरी



निर्वाचन क्षेत्रमा सिकलसेल अस्पताल निर्माण गर्छुः सांसद चौधरी

प्रतिनिधिसभा सांसद चौधरीद्वारा सिकलसेल विरामी संग सिसहनियाँमा अन्तरक्रिया

शिवु खनाल, देउखुरी २९ मंसिर ।

प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीले सिकलसेल प्रभावित विरामीहरुसंग सोमबार देउखुरीको सिसहनियाँमा अन्तरक्रिया गरेका छन् । स्वास्थ शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिकलसेल एनिमियाका पिडितहरूसंग सदस्य चौधरीले अन्तरक्रिया गरेका हुन् ।

कार्यक्रममा सांसद चौधरीले यही आर्थिक वर्षभित्र सिकलसेल एनिमिया पिडितहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । तत्कालको लागि स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाबाट विरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र सिसहनियामा सिकलसेल अस्पताल निर्माण गरी स्वास्थ्य सेवा पु¥याउने छु सांसद चौधरीले भने ।

अहिले अलग अस्पताल बनाई सिकलसेलका विरामीलाई उपचार गर्दा लामो प्रोसेस हुन्छ । दिर्घकालीन योजना बनाएर सिकलसेल अस्पताल निर्माण गर्नुपर्छ । सिकलसेल थारू समुदायमा मात्रै चेकजाँच नगरी अन्य समुदायमा पनि यो रोगको चेकजाँच गर्ने दायरा बढाउने हो, सांसद चौधरीले भने ।

स्वास्थ शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवं प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको प्रमुख अतिथिमा भएको अन्तरक्रिया कार्यक्रममा सिकलसेलका बिरामीहरु सुनेश चौधरी, लक्ष्मी चौधरी, भगतलाल चौधरी, अतिराम चौधरी र रत्ना चौधरीले आ—आफ्नो पिडा सुनाएका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाङ जिल्ला कार्यालय सदस्य सुरामणी बेल्वासे, नेकपा राप्ती गाउँपालिकाका इञ्चार्ज किरण भण्डारी, युवा तथा खेलकुद विभागका सदस्य बिमल जैसी र डाक्टर सन्दिप चौलागाई लगायतका वक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष गरिबु चौधरीले गर्नुभएको थियोे ।

जग्गाको स्थलगत अनुगमन

यसैबीच प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीले राप्ती गाउँपालिका सिसहनिया स्थित सिकलसेल अस्पताल निर्माण गर्नको लागि उपलब्ध गराउने जग्गाको स्थलगत निरिक्षण तथा अवलोकन समेत गरेका छन् । सांसद चौधरीले जग्गाको अवलोकन गर्दै निर्वाचन क्षेत्रमा सिकलसेल अस्पताल निर्माण गरी विरामीलाई उपचारको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने बताए ।

गाउँपालिकामा रहेका संस्थाहरु संग समन्वय गरी जग्गाको व्यवस्थापन गर्नुस् यहि वर्षभित्र सिकलसेल अस्पताल निर्माणको लागि बजेट विनियोजित गर्नेछु सांसद चौधरीले भने । सिकलसेल विरामीहरूको यो समस्यालाई मैले पहिलै देखि सम्बोधन गर्ने एउटा भिजन बनाएको छु, यहि वर्षभित्र सम्बोधन पनि गर्नेछु । अब सरकारले यसको जिम्मेवारी लिन्छ । आत्तिनु पर्दैन, सांसद चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे