राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित



राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित

काठमाण्डाै २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । सभाको आज बसेको बैठकले दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो ।

दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले पक्षमा मत दिए । यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिए ।

दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित भए । शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार थिए । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । आजको मतदानमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चा नेपालका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारलाई भोट दिएनन्। यसै बीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयाेजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पाैडेलले शपथ गराएका थिए  ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे