अवरुद्ध लमही- घोराही सडक खण्ड ४ घण्टापछि खुल्यो



अवरुद्ध लमही- घोराही सडक खण्ड ४ घण्टापछि खुल्यो

लमही २७ फागुन । पूर्व पश्चिम राजमार्गको दाङ खण्ड अवरुद्ध भएको चार घण्टापछि खुलेको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरूले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका थिए ।

दिउँसो साढे २ बजे बाट आफन्तहरू राजमार्गमा पुगेर सवारी साधन सञ्चालनमा रोक लगाएका थिए । दुर्घटनाको छानविन गरेर चालकलाई हदैसम्मको कानुनी कारबाही र मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपुर्ती लगायतको माग राख्दै राजमार्ग अवरुद्ध गरेकोमा मृतक व्यक्तिका दुई सन्तानलाई उच्च शिक्षा सम्म निःशुल्क पढाउने, श्रीमतीलाई रोजगारी दिलाउन पहल गर्ने सहमति जुटेपछि अवरुद्ध राजमार्ग सुचारु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

लामो समय सम्म राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिमका लागी छुटेका सयौं सवारी साधन र यात्रु अलपत्र परेका थिए । दाङको अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाइते अटो रिक्सा चालक लमही नगरपालिका– ७ निवासी ३५ वर्षीय विष्णुबहादुर थापाको मृत्यु भएको थियो । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३–०१०२२ च १७५७ नम्बर को स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटरसमेत ठक्कर खाएर दुर्घटना भएको थियो ।

प्रहरीले चारवटै सवारीसाधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षिया दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको थियो । दुर्घटनामा परेर घाईते स्कुटी चालक लमही न.पा.७ हसनापुर बस्ने बर्ष २१ को विश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उहाँको टाउकोमा चोट छ । मोटरसाइकल चालक राजपुर गाँउपालिका–३ निवासी २२ दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ वर्षीय मनिष सार्की, अटोमा सवार सोही ठाउँ निवासी ५५ वर्षीय हरि पुन, भारत उत्तर प्रदेश बिहार जिल्ला खगरिया निवासी ४० वर्षीय पंकज सिह र भारत उत्तर प्रदेश रामपुर निवासी ५० बर्षिया कश्मिर सिह घाइते भएका थिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे