सर्वोदय मावि सिसहनियाँ परिसरमा पूर्व शिक्षक गणेशरामद्धारा सरस्वती मन्दिरको शिलान्यास
सिसहनियाँ २४ फागुन । दाङ—देउखुरीको राप्ती गाउँपालिका—५, सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ । सोही विद्यालयमा करिब ३० बर्ष सम्म अध्यापन गराएर अबकास प्राप्त राप्ती गाउँपालिका—८, पिपरी निवासी पूर्व शिक्षक गणेशराम चौधरीको व्यक्तिगत लगानीमा उक्त सरस्वती मन्दिरको शिलान्यास गरिएको हो ।
चौधरीले आफ्नो स्वर्गीय मातापिताको सम्झनामा उक्त मन्दिर निर्माण गर्न लागेको पूर्व शिक्षक चौधरीले बताए । आफूले उक्त विद्यालयमा ३० बर्ष सम्म अध्यापन गराएको बताउँदै पूर्व शिक्षक चौधरीले सम्झना र मायाको कोसेलीका रुपमा सरस्वती मन्दिर बनाउन लागेको बताए ।
यस्तै विद्यालयका प्रधानध्यापक गोबिन्दबहादुर केसीले पूर्व शिक्षकले अध्यापन गराएर योगदान दिंदादिंदै पनि आफूले अध्यापन गराएको स्कूलमा मन्दिर बनाइदिएर उदाहरणीय कार्य गरेको बताए । उनले विद्यालयमा सरस्वती मन्दिरको आवश्यकता हामी सबैले महसुस गरिरहेको बेला पूर्व शिक्षक गणेशरामले मन्दिर बनाइदिएर ठुलो पूण्यको काम गरेको भन्दै धन्यबाद ज्ञापन गरे ।
मन्दिरको हिन्दु संस्कार अनुसार पुजापाठ गरेर शिलान्यास गरिएको छ । सोही विद्यालयका शिक्षक तथा पण्डित खेमहरि बैद्धले हिन्दु संस्कार अनुसार शिलान्यास गराएका हुन् । मन्दिर निर्माणकर्ता पूर्व शिक्षक चौधरीले पुजापाठ संगै मन्दिरको जगमा इटा राखेर शिलान्यास गरेका थिए ।
मन्दिर शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा राप्ती गाउँपालिका—५, नम्बर वडा अध्यक्ष देबप्रसाद चौधरी, विद्यालय व्यवस्थापन समिती सदस्य श्यामा रावत, विद्यालयका प्रधानध्यापक गोबिन्दबहादुर केसी, पत्रकार सन्तोषकुमार गुप्ता, विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।