दाङ—देउखुरीको शिव सवरीधाम पहरुवामा आज देखि महाशिवरात्री धार्मिक मेला शुरु हुँदै



दाङ—देउखुरीको शिव सवरीधाम पहरुवामा आज देखि महाशिवरात्री धार्मिक मेला शुरु हुँदै

सिसहनियाँ २४ फागुन । बहुप्रशिद्ध धार्मिकस्थल दाङ—देउखुरीको राप्ती गाउँपालिका—५, पहरुवा स्थित शिव सवरीधाम धार्मिक केन्द्रमा आज बिहिबार देखि महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम शुरु हुन लागेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको बहुचर्चित धार्मिक स्थल शिबसवरी धाममा प्रत्येक वर्ष झैँ यस बर्ष पनि महाशिबरात्रीका दिन धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम शुरु हुन लागेको हो ।

धार्मिक स्थलको प्रचार—प्रसार तथा हिन्दुधर्मको संरक्षण र विभिन्न कला संस्कृतिको जगेर्नाका लागि मेला आयोजना गरिएको कार्यक्रम केन्द्रका सचिव राजेन्द्र चौधरीले जानकारी दिए । फागुन २४ गते देखि २६ गते सम्म सञ्चालन हुने मेलामा फागुन २४ गते बेलुका अनौपचारिक साँस्कृतिक कार्यक्रम, २५ गते विहान ११ बजे मेला उद्घाटन तथा नृत्य प्रतियोगिता तथा सोही दिन बेलुृका कलाकार सहितको वृहत साँस्कृतिक कार्यक्रम र २६ गते विहान ११ बजे मेला समापन हुने केन्द्रका सचिव चौधरीले जानकारी दिए ।


महाशिरात्रीका दिन पुजाआजा गर्न तथा मेला अवलोकन गर्न दाङ—देउखुरी सहित छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची र कपिलबस्तु लगायतका जिल्लाहरुबाट समेत सयौँको संख्यामा भक्तजन र दर्शकहरु आउने गरेको सचिव चौधरीले बताए । धाममा प्रत्येक बर्षको महाशिबरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको छ ।

यसैबीच मेलालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन केन्द्रका पूर्व अध्यक्ष मिश्रुलाल चौधरीको संयोजकत्वमा मेला मुल आयोजक समिति गठन गरी जिम्मेवारी समेत तोकेको छ । जसअनुसार आर्थिक समितिको संयोजकमा शिशिर चौधरी, साँस्कृतिक समितिको संयोजकमा राजेन्द्र चौधरी, स्टल व्यवस्थापन समितिको संयोजकमा मिश्रुलाल चौधरी, प्रचार—प्रसार समितिको संयोजकमा सन्तोषकुमार गुप्ता, स्वमसेवक समितिको संयोजकमा किरण आचार्य, भण्डारा संयोजकमा सुरजमणी चौधरी र अतिथि सत्कार समितिमा बसन्ती धामीलाई प्रदान गरिएको धामका कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिए ।

धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, अग्लो त्रिशूल, दोलाई खोलामा डुंगा शयर, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे