गुरुकुल एकेडेमी घाेराहीकाे बार्षिक उत्सवकाे अवसरमा मिनी ओलम्पिक सुरु
घोराही १४ माघ । विद्यालय स्थापनाकालबाटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले ९ औँ वार्षिकोत्सवकाे अवसरमा साप्ताहिक मिनी ओलम्पिक कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उप-महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा आइतबार एक कार्यक्रम गरी साप्ताहिक खेलकुद गतिविधि सहित मिनी ओलम्पिक सुरु गरिएको हो ।
कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले विद्यालय स्तरबाट नियमित शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराउन सकेमा स्वस्थ नागरिक उत्पादन मात्रै नभई व्यवहारिक शिक्षामा पनि योगदान पुग्ने बताए । उनले शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयले खेल्दै आएको भुमिकाका कारण थुप्रै दक्ष जनशक्ति उत्पादन हुन सम्भव भएको बताउँदै अध्यक्ष पाण्डेले गुरुकुल एकेडेमीले दाङको शिक्षा क्षेत्रमा पहिचान स्थापित गर्न सफल विद्यालयका रुपमा रहेको विश्वास व्यक्त गरे । त्यस्तै उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा मिनी ओलम्पिक कार्यक्रमले उनीहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा घोराही नगर खेलकुद विकास संयोजक नरेन्द्र पुनले शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराएर उनीहरुको चौतर्फी विकासमा गुरुकुलले गर्दै आएको प्रयास निकै सराहनीय रहेको बताए । उनले विद्यालय स्थापनाको छोटो समयमा बालबालिका र अभिभावकको मन जित्दै गुणस्तरीय एवम् व्यवहारिक शिक्षामा जोड दिएको एकेडेमीले जिल्ला स्तरमा आफुलाई अब्बल बनाउँदै लगेको हुँदा आगामी दिनमा देशकै प्रतिष्ठित शिक्षालय बनाउन तर्फ विद्यालय प्रशासनलाई सुझाव दिए ।
विद्यालय प्रांगणमा आयोजित औपचारिक कार्यक्रम पश्चात् खेल शुरुभएको हो । कार्यक्रममा गुरुकुल एकेडेमीमका अध्यक्ष ई. अनन्त राज घिमिरेले पूर्ण मानवको परीकल्पना सहित विद्यालयल संचालनमा ल्याइएको बताएका थिए । यस्तै कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले पनि आफ्नो भनाई राखेका थिए । विद्यालयका संयोजक महेन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको औपचारिक कार्यक्रमको सहजीकरण कक्षा १२ की छात्रा सजना पौडेल र रोशन पौडेलले गरेका थिए ।
आगामी १८ गतेसम्म हुने मिनि ओलम्पिकमा चेस, बास्केट बल, भलिबल, टेबल टेनिस, क्रिकेट , गणित दौड ,टेक्वान्डो, मार्च पास , ब्याडमिन्टन लगायत खेल हुने बास्केटबल प्रशिक्षक तथा कार्यक्रम ब्यबस्थापक भुगोल पुनमगरले जानकारी दिनुभयो । गुरुकुल एकेडेमीले आफ्नो ९ औँ वार्षिकोत्सव माघ २० गते मनाउने तयारी गरेको छ ।