दाङमा हराएका माइजु–भान्जा एउटै रुखमा झुण्डिएको अबस्थामा फेला
दाङ ३ माघ । दाङमा पुस ९ गतेदेखि हराएका तुलसीपुर ३ गोटीखोला निवासी माइजु–भान्जा मृत भेटिएका छन् । उनीहरुलाई बुधबार अपरान्ह ४ बजेतिर सानो बखरियाको जंगलमा मृत फेला पारिएको हो ।
एउटै रुखमा झुण्डिएको अबस्थामा माइजु तुलसीपुर ३ निवासी ३४ बर्षीया बसन्ती थापा र सोही ठाउँका भाञ्जा १९ बर्षीय तुलसीराम घर्ती मृत फेला परेका हुन्। तुलसीपुर उपमहानगरपालिका– १३ स्थित सानो बखरिया जंगलमा पात टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गर्दा उनीहरु मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए। उनीहरु गाउँबाट हराएपछि थापाका श्रीमानले खोजीका लागि प्रहरीमा निवेदनसमेत दिएका थिए। थापाले दुई बर्षदेखि माताको रुपमा काम पनि गर्दै आएकी थिइन्। उनीहरुले सामूहिक आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। आत्महत्याको कारण भने खुलेको छैन।