भालुवाङ बस दुर्घटनाका मृत्यु भएका १२ जना मध्ये १० जनाकाे सनाखत, २ जनाकाे पहिचान खुल्न बाँकी (अपडेट)



भालुवाङ बस दुर्घटनाका मृत्यु भएका १२ जना मध्ये १० जनाकाे सनाखत, २ जनाकाे पहिचान खुल्न बाँकी (अपडेट)

भालुवाङ २८ पुस । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दाङ-देउखुरीको भालुवाङस्थित राप्ती नदीकाे पुलबाट खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति करिब १० बजेतिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिएका छन् । मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्रर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जाेगेन्द्र राम र बाँके खजुरा गाउँपालिका-३ निवासी २५ बर्षिय सञ्जय केसीकाे सनाखत भएको प्रहरीले जनाएको छ । दुई जनाको सनाखत हुन बाँकी रहेकाे इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएकाे छ ।

दुर्घटनामा काठमाडौं बस्ने ११ वर्षीय आज्ञा पाण्डे, काठमाडौं कालीमाटी बस्ने ३८ वर्षीय मन्जु शर्मा, बाँके बस्ने २० वर्षीय निरञ्जन कोरी, बाँकेको नेपालगञ्ज बस्ने २४ वर्षीय आशुतोष गौतम, रौतहट बस्ने २६ वर्षीय सञ्जय कार्की, बाँकेको कोहलपुर बस्ने २१ वर्षीय धनबहादुर पुन मगर, बर्दियाका २२ वर्षीय राजीव थारू, जुम्लाका १९ वर्षीय विशाल बोहरा, बाँकेका १८ वर्षीय दशरथ बिक, बाँकेका १९ वर्षीय नफिज खान, डोल्पाका ३५ वर्षीय धनकली बूढा, बाँके राप्ती सोनारी गापा २ का ३१ वर्षीय सहचालक कुलबहादुर गोसाइँ, बाँकेका २० वर्षीय अरवाज नाउँ घाइते भएका छन् ।

त्यसैगरि काठमाडौं चखेवा बस्ने ४५ वर्षीय सुवास कार्की, बाँकेको नेपालगञ्ज बस्ने ३५ वर्षीय लिला वली, बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षिया कुसुम बस्नेत, बाँके बैजापुर बस्ने २१ वर्षीय खलासी शंकर थारू, भारत बस्ने २३ वर्षीय राहुल कुमार अहिर, बाँकेका २५ वर्षीय महमद जावेद, कालिकोटका ३५ वर्षीय तिलक प्रसाद उपाध्याय, काठमाडौंका ४५ वर्षीय राधा पाण्डे र काठमाडौंका २३ वर्षीय सन्जु बडुवाल घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ।

नमस्ते यातायातको ३६ जना सवार बस दुर्घटना भएको भएको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना काेहलपुर र दुई जनाकाे भालुबाङ अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे