काठमाडौं-दिल्ली उडान खुल्यो, दुई देशका सरकारी एयरलाइन्स मात्र उड्ने
काठमाडौं २५ मंसिर । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल र भारतका सरकारी एयरलाइन्स सहभागी भई उडान सञ्चालन गर्नेछन् ।
एयर बबल स्किममा नेपालले आफ्नो एक र भारतको एक वायुसेवा कम्पनीलाई उडान अनुमति दिने निर्णय गरी सहमतिका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो । भारतले उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकेको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा स्वयं एयरलाइन्सलाई दिइएको छ ।
अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ । यसरी यो रुटमा दैनिक दुई उडान हुने गरी सहमति बनेको छ । उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित नेपाल-भारत यात्रा गर्न सक्ने भएका छन् ।
एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रा थाल्नु अगाडि नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने छ । त्यसपछि विमान बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।