नामसालिङ र राप्ती गाउँपालिकाको पालिका स्तरीय समन्वय बैठक सम्पन्न



नामसालिङ र राप्ती गाउँपालिकाको पालिका स्तरीय समन्वय बैठक सम्पन्न

भालुवाङ २६ मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका सँगको गाउँपालिका स्तरीय समन्वय बैठक सम्पन्न गरेकाे छ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे गाउँपालिका स्तरीय समन्वय बैठक राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न गरिएको हो।

नामसालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक सशांक आचार्यले सहजीकरण गरेकाे उक्त कार्यक्रममा आचार्यले परियोजनाका प्रमुख कार्य क्षेत्रका बारेमा प्रकाश पार्दै परियोजना मार्फत राप्ती गाउँपालिकामा संचालित विभिन्न क्रियाकलापमा बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा गाउँपालिकाका पशुपन्छी विकास शाखाका दामोदर आचार्य, शिक्षा शाखाका विश्वास बिक तथा प्रशासन शाखाका विकास ज्ञवालीले केन्द्रका बारेमा आफ्ना धारणा राखेका थिए साथै प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, उपाध्यक्ष कमलापती चौधरी तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले संस्थाको गाउँपालिकामा संचालित कार्यक्रमका बारेमा प्रष्ट पार्दै संस्थाको प्रशंशा गर्दै संस्थालाई आवश्यक सुझाव समेत दिएका थिए ।

वि. सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको नाम्सालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे