देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे एकीकरण प्रक्रिया बदर



देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे एकीकरण प्रक्रिया बदर

देउखुरी ३ कार्तिक । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको एकीकरण प्रक्रिया बदर भएको छ । तीन वर्ष अघि हरियाली बचत तथा ऋण सहकारी संस्था, बिहानी बचत तथा ऋण सहकारी संस्था, जनजीविका बचत तथा ऋण सहकारी संस्था र महाप्रभु बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था गठन गरिएको थियो । तर सहकारी एकीकरण भएपछि हुनुपर्ने कार्यहरु नगरेको पाइएपछि लुम्बिनी प्रदेश गृह मन्त्रालयले एकीकरण प्रक्रिया बदर गरेको हो । एकीकरण कार्यान्वयनको कुनै पनि कार्य गरेको नदेखिएकोले सहकारी एकीकरण कार्यविधि, २०७७ को दफा १७ (२) अनुसार एकीकरण स्वीकृति बदर गरिएको र निर्णय कार्यान्वयनको लागि सहकारी दर्ता अधिकारीको कार्यालयलाई जानकारी गराएको छ ।

महाप्रभु बचत तथा ऋण सहकारी संस्थाभित्र पाँच करोड बढी रकम अपचलन गरेको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको छ । महाप्रभुको हकमा मुद्दा दर्ता भएकोले उक्त संस्थालाई अदालतको आदेश बमोजिम कारवाही हुने मन्त्रालयले जनाएको छ । अन्य हरियाली बचत तथा ऋण सहकारी संस्था, जनजीविका बचत तथा ऋण सहकारी संस्था र बिहानी बचत तथा ऋण सहकारी संस्थाहरुलाई तीन महिनाभित्र छुट्टाछुट्टै लेखा परीक्षण गर्ने, नियमानुसार कर तिर्ने, साधारणसभा गर्ने, साधारणसभाको बैठकको निर्णयसहित प्रतिबेदन सहकारी दर्ता अधिकारीको कार्यालयमा पेश गरी बोधार्थ मन्त्रालयमा दिन भनिएको छ ।

साविक संस्थाको नाम कायम गरी छुट्टाछुट्टै पान नम्बर प्रदान गर्न कर कार्यालयमा लेखि पठाउने र अन्य प्रक्रियागत रुपमा कुनै निर्णय लिनुपर्ने भए निर्णय लिई सहकारीहरुलाई चुस्त दुरुस्त बनाउने गरी एकीकरणको प्रक्रिया बदर गरी छुट्टाछुट्टै कारोबार सञ्चालन गर्ने गरी विभाजन गर्न सहकारी दर्ता अधिकारीको कार्यालयमा निर्देशन दिइएको छ । गत असार १ गते बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न दिर्नेशन दिइएको छ । वि.सं. २०७७ साल पुस २७ गते चारवटा सहकारी संस्था एकीकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो । नयाँ युगबाेधबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे