राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा लगातार तेस्रो पटक जिल्ला प्रथम



राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा लगातार तेस्रो पटक जिल्ला प्रथम

भालुवाङ ५ असोज । दाङको राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा लगातार तेस्रो पटक पनि उत्कृष्ट अंक सहित दाङ जिल्ला प्रथम हुन सफल भएको छ । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको हो ।

त्यसैगरी घोराही उपमहानगरपालिका दोस्रो, शान्तिपुर गाउँपालिका तेश्रो भएको छ । स्वास्थ्य कार्यालय दाङको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रममा राप्ती गाउँपालिकालाई उत्कृष्ट घोषित गरिएको हो । अन्य पालिका मध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा सबै भन्दा राम्रो बनाएको आधारमा एक कार्यक्रमका बीच उत्कृष्ट भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरिएको छ ।

गत आर्थिक वर्षमा पालिकाहरुले स्वास्थ्य कार्यक्रमका गरेको कामको मुल्यांकन गर्न स्वास्थ्य कार्यालय दाङका किशोर आचार्यको संयोजकत्वमा गठित समितिले उत्कृष्टता घोषणा गरेको हो । खोप कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, परिवार नियोजन कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित प्रदेशको २१ वटा सूचक र स्वास्थ्य कार्यालय दाङको ५ वटा सूचकलाई आधार बनाएर उत्कृष्ट घोषित गरिएको संयोजक किशोर आचार्यले बताए ।

राप्ती गाउँपालिकाले ८३ दशकलव ८९ प्रतिशत मुल्याङ्कन सहित उत्कृष्ट भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए । उत्कृष्ट भएका पालिकाहरुलाई जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा लगायतले प्रमाण पत्र हस्तान्तरण गरे । कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे