संघर्ष समितिले भदौ २५ गते सम्म आन्दोलनको कार्यक्रम स्थगित गरी राजनीतिकदल सँग छलफल गर्ने



संघर्ष समितिले भदौ २५ गते सम्म आन्दोलनको कार्यक्रम स्थगित गरी राजनीतिकदल सँग छलफल गर्ने

भालुवाङ १९ भदौ । जग्गा फुकुवा संघर्ष समितिले भदौ २५ गते सम्मका लागि आन्दोलनको सम्पुर्ण कार्यक्रम स्थगित गरि क्षेत्रिय र पालिका स्तरका राजनीतिक दलहरु सँग छलफल गर्ने भएको छ ।

संघर्ष समितिका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा शुक्रवार भालुवाङमा बसेको बैठकले सो निर्णय गरेको हो । जग्गा फुकुवा गर्न प्रदेश स्तरका प्रमुख राजनीतिक दलहरू सहमति नजिक पुगेका बेला संघर्ष समितिले क्षेत्रिय र पालिका स्तरका राजनीतिक दलहरु सँग छलफल गर्ने तयारीमा जुटेको छ । नेकपा एमाले वाहेक अन्य सवै दलका नेताहरूले कित्ताकाट विना जग्गा फुकुवा गर्न सहमत भएपनि नेकपा एमालेका सचेतक तुलसी प्रसाद चौधरी हतारमा जग्गा फुकुवा गर्दा राजधानी व्यवस्थापनमा असर पुग्ने र विना कित्ताकाट जग्गा फुकुवा गर्दा नागरिकहरूलाई कुनै फाइदा नहुने भन्दै १÷२ हप्ता लगाएर भएपनि कुन– कुन मापदण्ड अनुसार कित्ताकाट गर्दा राजधानी व्यवस्थापनमा असर पुग्दैन त्यसको अध्ययन गरेर मात्र कित्ताकाट सहितको जग्गा फुकुवा गर्न अडान लिएपछि बिहीबारको सर्वदलीय बैठक स्थगित भएको थियो । संघर्ष समितिले राजधानी व्यवस्थापनमा असर नपर्नेगरी कम्तिमा एक कट्ठा जग्गा कित्ताकाट हुने गरी रजिष्ट्रेशन फुवा गर्न माग राखेको छ ।

यस्तै घरनक्सा पास फुकुवा गर्नुपर्ने, लिलाममा जान लागेका ऋणिहरुको हकमा ऋण चुक्ताका लागि सहजीकरण गरी कित्ताकाट गर्न दिने, राजधानी घोषणा हुनुपूर्व किनबेच भएका तर, रजिष्ट्रेशन पास नभएका घरघडेरी जग्गाहरुको हकमा तत्कालीन लिखित कागजलाई आधार मानी रजिष्ट्रेशन पास गर्न पाउनुपर्ने माग राखिएको छ । राजधानीको निर्णय हुनु अघि जग्गा रोक्का गर्ने निर्णय भएको थियो । २०७७ असोज १६ गते तत्कालीन सरकारले राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३, अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. ८ र ९ को करिब दशहजार बिघा जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे