सर्वाेदय माविकाे अनुगमन, पालिकाले अवलम्बन गरेकाे नीतिलाई तत्काल कार्यान्वयन गर्न आग्रह
देउखुरी १३ भदौ । राप्ती गाउँपालिकाले बुधबार वडा नं. ५ सिसहनियाँमा रहेको सर्वाेदय माध्यमिक विद्यालयकाे अनुगमन गरेको छ।
विद्यालयहरुमा देखिएका हरेक समस्याकाे पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन गरिएको हाे। विद्यालयकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली, वडा नं.५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले अनुगमन गरेका थिए। अनुगमन पश्चात् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यालयमा देखिएका समस्याहरुलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै समस्याको हल गर्ने बताए ।
गाउँपालिकाकाे पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा सुधार गर्ने रहेको बताउदै अध्यक्ष विष्टले विद्यालय शिक्षामा देखिएका समस्यलाई गाउँपालिका र विद्यालयले समन्वय गरेर हल गर्नुपर्ने बताए । जग बलियो भएमा मात्रै घर बलियो हुने भन्दै अध्यक्ष विष्टले शिशु कक्षा देखिनै बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूलाई व्यावहारिक र संस्कारी शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे । त्यस्तै अध्यक्ष विष्टले शिक्षक पेशा जागिर मात्रै नभइ सामाजिक उत्तरदायित्व समेत भएको बताउदै शिक्षकहरु आफ्नाे कर्तव्य प्रति जिम्मेवार र निष्ठावान भएर लाग्नुपर्ने बताए । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आइ सक्रिय रुपमा पठनपाठन क्रियाकलापमा सहभागी गराउन विद्यालय प्रशासन र शिक्षकहरुकाे प्रमुख भूमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन विद्यालय प्रशासन तथा शिक्षकहरुलाई आग्रह गरे ।
त्यस्तै वडा नं.५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चाैधरीले प्राविधिकधारका विद्यार्थीहरू लाई अधिकतम रुपमा प्रयाेगात्मक क्रियाकलापमा लगाउनुपर्ने बताए । पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले पालिकाले प्रत्येक शुक्रबार बुक फ्रि डे काे नीति ल्याएकाले त्यसैलाई कार्यान्वयन गर्न आग्रह गरे । पालिकाले पालिका भित्र रहेका विद्यालयहरुकाे गत श्रवण महिना देखि नै अनुगमन कार्यलाई तिब्र पारेको छ। यस अघि वडा नं.५ पहरुवामा रहेको बालकल्याण आधारभूत विद्यालय, वडा नं. ३ बसन्तपुरमा रहेको बिपी आधारभूत विद्यालय र वडा नं. ६ पत्थरगढवामा रहेको मार्टिन बाेर्डिङ स्कुलकाे अनुगमन गरिसकिएको छ। पालिकाले वर्ष भरिकै समय तालिका निर्धारण गरि विद्यालय अनुगमन कार्यलाई तिव्र पारेको छ।