तीन महिने अभियान पार्टीको अन्तिम परिक्षा हो : सचिव अधिकारी



तीन महिने अभियान पार्टीको अन्तिम परिक्षा हो : सचिव अधिकारी

देउखुरी ९ भदौ ।  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका पार्टी सचिव कृष्ण अधिकारी”प्रकाश”ले पार्टीले भदौ १६ गतेदेखि शुरु गर्ने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीकाे शुक्रबार मसुरियामा बसेकाे विस्तारित बैठकलाई सम्वाेधन गर्दै अधिकारीले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन् । उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी-शिशेष रुपान्तरण अभियान’ शुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एक साथ उद्घाटन हुने बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले सातवटा प्रदेशका सात वटा वडा जिम्मा लिने र अन्य सबै नेताहरुले समेत वडा जिम्मा लिने भन्दै सबै नेताहरु परिक्षामा सामेल हुने बताए । उनले यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै आफूहरु सामुहिक रुपमा उत्तिर्ण हुने विश्वास व्यक्त गरे । उनले भने- ‘भदौ १६ गते ६७४३ वटामा एकै साथ उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सातवटा वडाहरु जिम्मा लिएका छन् ।

हामीले पनि सबैले जिम्मा लिएका छौँ । यसमा हामीले वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, संगठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छौ । यो एउटा परीक्षा हो । हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौँ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तिर्ण हुन्छौँ । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ । हामीले साझा संकल्प गरेका छौँ कि यो परीक्षामा हामी सामुहिक रुपमा उत्तिर्ण हुन्छौँ ।’ त्यस्तै पार्टीका दाङ जिल्ला संयाेजक तुलसीराम पुन “सुवास” ले पार्टीका नेतादेखि कार्यकर्तासम्म सुध्रिन आबश्यक रहेको बताए । पुनले यो अभियान मार्फत माओवादीले ल्याएका राम्रा कामलाई जनतामा बुझाईने समेत बताए ।

माओवादीकै कारण मुलुकमा समावेशीसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै यो कुरा बुझाउन आबश्यक रहेको उनको भनाई थियो । साथै माओवादीले अहिले शान्तिपूर्ण ढंगले भ्रष्टाचार विरुद्धको जनयुद्ध सुरु गरेको भन्दै यसमा सबैको साथ आबश्यक रहने बताए । बैठकमा पार्टीका राप्ती गाउँपालिका इन्चार्ज चित्र बहादुर थापा मगर “सुर्य प्रकाश “, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,तुला गिरी,वाईसीएल इन्चार्ज ज्ञानु केसी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको बैठकको सहजीकरण सचिब बसन्त नेपालले गरेका थिए । त्यस अवसरमा सबै वडाबाट रिपोर्ट समेत राखिएको थियो । बैठकले भदौ १६ गतेदेखि शुरु हुने ‘जनतासँग माओवादी-शिशेष रुपान्तरण अभियान’का लागि प्रत्येक वडामा नेता कार्यकर्ताहरु जिम्मेवारी समेत ताेकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे