राप्तीका विद्यालयहरुमा विद्यार्थीहरुलाई सिपमुलक तथा जीवनउपयोगी ज्ञान सिकाइदै



राप्तीका विद्यालयहरुमा विद्यार्थीहरुलाई सिपमुलक तथा जीवनउपयोगी ज्ञान सिकाइदै

भालुवाङ ९ भदौ । सधै पढाइलेखाईमा व्यस्त रहने विद्यार्थीहरु शुक्रवार भने राप्ती गाउँपालिकाका विभिन्न विद्यालयहरुमा फरक दृश्यमा देखिए ।

यस्तै फरक दृश्य देखियो राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको माध्यमिक विद्यालयमा । झट्ट हेर्दा जो कोहीलाई लाग्थ्यो त्यहाँ केही व्यवसाय सञ्चालन भइरहेको छ । कतिपय विद्यार्थीहरुले कपाल काट्ने काम गरि रहेका थिए भने कतिपय विद्यार्थीहरुले विभिन्न प्रकारका चिया, कफी पकाई रहेका थिए । अल्लि परगई सकेपछि केही विद्यार्थीहरु ब्युटिसियनको काम सिकी रहेका थिए भने केहीले कम्पोष्ट मल बनाउने तरिका र केहीले नृत्य सिकी रहेका थिए ।
त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माविका विद्यार्थीहरु पनि शुक्रवार फरक दृश्यमा देखिए ।

कक्षा १–५ सम्मका विद्यार्थीहरुलाई माटोबाट निर्मित सामाग्रीहरु बनाइरहेका थिए, कक्षा ६–८ सम्मका विद्यार्थीहरु दुना टपरी बनाइरहेका थिए । त्यस्तै कक्षा ९–१० सम्मका विद्यार्थीहरु नर्सरी व्यवस्थापन र बेर्ना उत्पादन गरिरहेका थिए भने कक्षा ११–१२ सम्मका विद्यार्थीहरु सीप मुलक शिक्षा आजको आवश्यकता बिषयमा निबन्ध लेखिरहेका थिए । यी सबै क्रियाकलापहरु कुनै काल्पनिक नभई वास्तविक रहेका थिए । राप्ती गाउँपालिकाले पालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा शुक्रबार किताब बिनै व्यवहारिक शिक्षा प्रदान गर्ने नीति लागू गरेसँगै उक्त विद्यालयहरुले विद्यार्थीहरुलाई त्यस प्रकारको व्यावहारिक शिक्षा प्रदान गर्न थालेका हुन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरुलाई किताबी ज्ञान सँगसँगै व्यावहारिक, जीवन उपयोगी र संस्कार युक्त शिक्षा प्रदान गर्ने गरेको बताए । विद्यालय अनुगमनमा गएका अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । “पछिल्लो समयमा विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गरेको प्रमाणपत्र हातमा भएर पनि बेरोजगार हुनु परेको छ ।“– अध्यक्ष विष्टले भने –“यसको मुख्य कारण नै व्यावहारिक र जीवन उपयोगी शिक्षाको कमी हो ।“ कम्तीमा हप्ताको एक दिन भए पनि विद्यार्थीहरुलाई व्यवहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्ने उदेश्यले पालिकाले बुक फ्रि डे को नीति लागू गरेको अध्यक्ष विष्टको भनाई रहेको छ ।

माध्यमिक विद्यालय मौरीघाटकी प्रधानाध्यापक सीता रिजालले विद्यालयले प्रत्येक शुक्रबार यसै गरि विद्यार्थीहरुलाई विभिन्न सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउदै आइरहेको बताइन् । पालिकाले शुक्रबार किताब बिनै व्यावहारिक शिक्षा प्रदान गर्ने निति लागू गरे सँगै पालिकाका अन्य विद्यालयहरुमा समेत यस्ता क्रियाकलापहरु सञ्चालन गर्ने गरेका छन् । यस्तै आदर्श नमुना मावि लालमटियाका प्रध्यानाध्यापक किरण पोख्रेलले हरेक हप्ताको शुक्रवार बुक फ्रि डे कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई उनीहरुको कितावी ज्ञान सँगै सिपमुलक, संस्कारयुक्त र जीवनउपयोगी कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । यस प्रकारको कार्यक्रमले विद्यार्थीहरु समेत उत्साहित भएको प्रध्यानाध्यापक पोख्रेललेबताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे