बर्दियामा भारी वर्षाले ४३ घर डुबानमा



बर्दियामा भारी वर्षाले ४३ घर डुबानमा

बर्दिया २८ साउन । आइतबार बिहानैदेखि परेको अविरल वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका-८ स्थित औरी, भगतपुर र दुद्याका ४३ घर डुबानमा परेका छन् । यस क्षेत्रमा जिल्लाको सबैभन्दा बढी पानी परेको बताइएको छ । डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधिर राज शाहीले २४ घण्टामा रम्मापुरमा २ सय २६ दशमलव ४ मिलीलिटर पानी परेको जानकारी दिए । बर्दियामा यस वर्षको सबैभन्दा बढी वर्षा आज भएको हो । यसैगरी चेपाङस्थित जलमापन केन्द्रमा १ सय ७२ मिलीलिटर पानी परेको उनले जनाए ।

बबई र कर्णालीमा जलस्तर बढ्दै गए पनि खतराको चिह्मा पुगेको छैन । बबईको कटानले बबई सिँचाइ आयोजनाले ठाकुरद्धारा स्थित खैलारमा निर्माण गरेको तटबन्धको लन्चिङ जाली बगाएको छ । स्लोभ खस्किन थालेपछि त्यसलाई जोगाउने प्रयास भइरहेको बबई सिँचाइ आयोजनाका प्रमुख शुशील देवकोटाले बताए । स्लोभ बगाए निर्माण भएको पश्चिम नहर जोखिममा पर्ने उनले जनाए ।

सोमबारसम्म वर्षा हुने भएकोले बबई र कर्णाली क्षेत्रको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए । ‘पानी परिरहेको छ । दिउँसोसम्म बाढीको जोखिम नभए पनि लगातार पानी परिरहेकोले जलस्तर बढ्ने भएकाले सतर्क गराइएको छ,’ अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे