शिक्षक महासंघको अगुवाईमा राप्तीका शिक्षक तथा कर्मचारीले दिए गाउँपालिकामा धर्ना



शिक्षक महासंघको अगुवाईमा राप्तीका शिक्षक तथा कर्मचारीले दिए गाउँपालिकामा धर्ना

भालुवाङ २८ साउन । नेपाल शिक्षक महासंघको अगुवाइमा आइतबार शिक्षक तथा कर्मचारीले देशभरका पालिकामा धर्ना दिएका छन् ।

महासंघको पहिलो चरणको आन्दोलन अन्तर्गत उनीहरूले ७५३ वटै पालिकामा धर्ना दिएका हुन् । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको जनाएको छ ।

यसै क्रममा दाङको राप्ती गाउँपालिकाको कार्यालयमा राप्तीका ४२ जना शिक्षक, शिक्षिका तथा कर्मचारीहरूले धर्ना दिएका थिए । शिक्षक तथा कर्मचारीले बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म धर्ना दिएको नेपाल शिक्षक महासंघका राप्तीका अध्यक्ष कुलराज जैशीले जानकारी दिएका छन् ।

धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारीपत्र गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली र शिक्षा युवा तथा खेलकुद शाखा विश्वास विकलाई संयुक्त रूपमा महासंघले बुझाएको छ ।

महासंघको आन्दोलनलाई राप्तीमा रहेका नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनले ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे