लुम्बिनीका साहित्यकारहरु देउखुरीमा जम्मा भएर गरे नेपाललाई शान्ति क्षेत्र घोषणाकाे माग



लुम्बिनीका साहित्यकारहरु देउखुरीमा जम्मा भएर गरे नेपाललाई शान्ति क्षेत्र घोषणाकाे माग

देउखुरी २८ साउन ।  नेपाललाई शान्तिक्षेत्र घाेषणाकाे माग गरिएको छ ।  लुम्बिनी प्रदेशमा कृयाशील विभिन्न संघसंस्थाकाे पहलमा आयाेजित विश्व शान्ति : बुद्ध र नेपाल विषयक विचार गाेष्ठीले नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

विपश्यना ध्यान केन्द्र घोराहीका संस्थापक तथा वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरकाे प्रमुख आतिथ्यमा शनिबार दाङको मसुरियामा आयाेजित विचार गाेष्ठीमा विश्वलाई नै शान्ति र अहिंसाको युगिन सन्देश दिने महान व्यक्ति गौतम बुद्धको जन्मथलोको रुपमा रहेको नेपालीमा नेपालीको शान्तिप्रति अटुट निष्ठा रहँदै आएको स्मरण गराउँदै विश्व समुदायले पनि शान्ति प्रतिको नेपालकाे सर्वोच्च निष्ठाको सम्मान गरोस् भन्ने तीब्र अभिलाषा सहित प्रस्ताव गरिएकाे छ।

शान्तिप्रति नेपाल राष्ट्र र नेपाली जनताको अभिलाषा परराष्ट्र नीतिमा समेत लामो समयदेखि परिलक्षित भएको हुँदा असंलग्नता, समानता, आपसी सम्मान, कुनै पनि मुलुकको आन्तरिक मामलामा अहस्तक्षेप र पञ्चशील जस्ता शान्तिकामी सिद्धान्त परराष्ट्र नीतिका बलिया जग रहँदै आएका प्रस्तावमा उल्लेख गरिएको छ। नेपाली जनताको शान्तिप्रतिको अटुट निष्ठा, मुलुकको सर्वोच्च र साझा स्वार्थको रक्षा, शान्ति र स्वाभिमानपूर्वक बाँच्नका लागि नेपाली जनताले विगत सात दशकदेखि गर्दै आएको गौरवमय संघर्ष, बदलिँदो विश्व परिवेशलाई समेत दृष्टिगत गर्दै नेपाललाई शान्ति क्षेत्र घोषित गर्नु मुलुक, जनता र विश्व समुदायको समेत सर्वोच्च हितमा हुने हुँदा नेपाललाई शान्ति क्षेत्र घोषित गर्नेतर्फ तत्काल पाइला चाल्न विचार गाेष्ठीले अपिल गरेको छ ।

साे अवसरमा, लुम्बिनी प्रदेशका सभामुख घर्तीले मुलुकमा शान्ति स्थापना अहिलेकाे आवश्यकता भएको बताए । हरेक नागरिककाे मनमा शान्ति कायम गर्न राजनीतिक रुपमा पनि नेपाली समाजकाे विचार अटाउने समाजवादमा अग्रसर भईरहेकाे बताए । भाैतिकवादले सुख दिएपनि मनकाे शान्ति नहुँदासम्म मानव विकासकाे आधार तय नहुने भएकाले लाेभ, लालच, ईर्ष्या, बेभिचारबाट मुक्त कसरी बनाउने भन्ने कुराकाे बाेध गर्न वुद्ध दर्शन अध्ययन आवश्यक रहेकाे बताए । कार्यक्रममा लुम्बिनी विकास कोषका पूर्व कोषाध्यक्ष भिक्षु मैत्ययको मंगलाचरणबाट शुरु भएको कार्यक्रममा डा. बालकृष्ण चापागाईले आधारपत्र प्रस्तुत गरेका थिए । उनले शक्तिका कारण विश्व अशान्त रहेकाे हुँदा यसलाई व्यवस्थापन गर्नु अहिलेको आवश्यकता रहेकाे बताए । मानवलाई असल मानव बनाउन बुद्धकाे ज्ञान अनुशरण गर्नु नै हरेक मानवका लागि अपरिहार्य रहेकाे बताउँदै उनले वुद्धलाई वृद्ध बनाउने साेँच परिवर्तन गर्नुपर्ने बताए ।

विचार गाेष्ठीमा सहभागीहरुले बुद्ध धर्म मानवीय प्रेम र करुणाको धर्म रहेकाे बताउँदै प्रकृतिका नियमहरूलाई मान्ने हुँदा याे धर्म विज्ञान पनि रहेकाे जिकिर गरे । बुद्ध धर्मभित्र सजिलै संसार अटाउने हुँदा अहिले लुम्बिनी क्षेत्रलाई विश्वशान्ति सहर बनाउने र त्यसका लागि एकीकृत लुम्बिनी क्षेत्रीय विकास गुरुयोजना निर्माण गर्ने भन्ने चर्चा चलेको प्रति ध्यानाकर्षण गराउँदै नेपाललाई शान्ति क्षेत्र घाेषणा गर्न अभियान सफल बनाउन सबैकाे साथ र सहकार्य अपरिहार्य रहेकाे बताए । नेपाललाई शान्तिक्षेत्र घोषण गर्नका लागि विश्वसामु पहल गर्नु आवश्यक रहेकाे पनि वक्ताहरुकाे जाेड थियाे । लुम्बिनी विकास कोषका पूर्व कोषाध्यक्ष भिक्षु मैत्ययले माैलिकपनकाे समाजवाद चाहिएकाे बताए ।

नेपाललाई शान्तिक्षेत्र र लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिको सहरको प्रतीकको रुपमा स्थापित गर्नुपर्ने अभियानमा साझा प्रतिवद्धता कार्यान्वयनमा लाग्नु नै अहिलेकाे आवश्यकता रहेकाेमा उनले जाेड दिए । कार्यक्रममा टिप्पणीकार प्रमाेद धिताल, घनश्याम न्याैपाने परिश्रमीले टिप्पणी गरेका थिए भने लिलाधर पन्थी, राजनकुमार न्याैपाने, टीकाराम रेग्मी, ऋषिराज जंगली, नारायण नेपाल, किशाेरचन्द्र गाैतम, सुशीला आचार्य, कृष्णराज डिसीलगायतले सुझाव सहित धारणा राखेका थिए । कार्यक्रम राप्ती गाउँपालिका देउखुरी दाङ, गोर्खा बोर्डिङ स्कुल देउखुरी, गुरुकुल एकेडेमी घोराही र समृद्धि सरोकार केन्द्र नेपाल गरी ४ वटा संस्थाको सहकार्य तथा दाङ विपश्यना ध्यान केन्द्र (धम्मपराग) घोराही, लुम्बिनी वाङगमय प्रतिष्ठान नेपाल र नागरिक समाज देउखुरीको संयुक्त आयोजनामा भएको हाे । लुम्बिनी वाङ्गमय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादकाे स्वागत मन्तव्यबाट शुरु भएको विचार गाेष्ठीकाे सहजीकरण नागरिक समाज दाङका उपसंयाेजक निमबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे