पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना : बाढी, पहिरोसँगै डुबानको जोखिम, सावधानी अपनाउन आग्रह



पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना : बाढी, पहिरोसँगै डुबानको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डाै २८ साउन । आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आरीघोप्टे पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ ।

यस्तै, देशका पूर्वी क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना छ । आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो ।काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई/तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको पाैडेलले जानकारी दिनुभयाे । आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ । देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे