प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी सरकारलाई हस्तान्तरण



प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी सरकारलाई हस्तान्तरण

रुपन्देही १५ साउन । एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फन्डकाे अनुदानमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

८ करोड ७० लाख २० हजार ४ सय २० रुपैयाँको लागतमा निर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला ग्लोबल फन्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक, सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमवार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोगलगायत अन्य विविध खालका सरुवा रोगहरूको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणदेखि प्याथोलोजिकल  र विशिष्टीकृत मलिक्युलर विश्लेषणसम्मका सेवा प्रदान गरिनेछ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले भने, ‘यस प्रयोगशालामा उपलब्ध हुने सेवाहरूको गुणस्तर तथा विश्वसनीयता कायम गर्नुमात्र नभई लुम्बिनी र अन्य प्रदेशहरूमा समेत स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरू परिपूर्ति गर्नेतर्फ अघि बढ्नु प्रदेश सरकार र पालिका सरकारलगायत हामी सबैको साझा दायित्व हो । यस महत्त्वपूर्ण स्वास्थ्य संरचनाको जिम्मेवारी लिँदै यस प्रयोगशालाले प्रदान गर्ने गुणस्तरीय सेवाको दिगोपनको लागि प्रदेश सरकारले रकम विनियोजन गर्नेछ भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक क्याम्पबेलले भने, ‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै हामीले सेवा दिने र काम गर्ने समुदायहरूका लागि स्वास्थ्य सेवा पहुँचयोग्य, गुणस्तर र सामयिक बनाई स्वास्थ्य सेवामा असमानता घटाउन हाम्रो तर्फबाट निरन्तर सहयोग रहने र नेपाल सरकारसँग सहकार्य गर्ने हाम्रो प्रतिबद्धतामा पुनः जोड दिन चाहन्छु ।’  एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फन्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टोयानोभिकले भन्नुभयो, ‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा एक महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई थप सुधार गर्न हामी सङ्घीय, प्रदेश र जिल्ला स्वास्थ्य निकायहरूसँग थप सहकार्य गर्ने आशा व्यक्त गर्दछु ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सेवा पूर्वाधारको सुदृढीकरण गर्ने र स्वास्थ्य समस्याको समयमै सही परीक्षण र उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यस्तै प्रयोगशालाले लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका अन्य स्वास्थ्य प्रयोगशालाहरूको नियमन गर्न प्रदेश र पालिकाहरूलाई सक्रियरूपमा सहयोग गर्ने उद्देश्य रहेको छ । यसका साथै क्षमता सुदृढीकरण कार्यक्रमहरूमार्फत यस प्रयोगशालालले लुम्बिनी प्रदेशका प्रयोगशालाहरूमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, प्रयोगशालाहरूलाई प्राविधिक सहायता प्रदान गर्ने, प्रयोगशालाहरूको उच्च गुणस्तर कायम राख्ने र सर्वसाधारणलाई कम मूल्यमा प्रयोगशाला सम्बन्धी सेवा दिनका लागि समेत सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे