गढवा गाउँपालिका न्यायिक समितिद्वारा १ सय ९ विवाद फर्च्योट



गढवा गाउँपालिका न्यायिक समितिद्वारा १ सय ९ विवाद फर्च्योट

गढवा ३१ असार । गढवा गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/ ०८० मा एक सय नौ वटा विवाद फर्च्योट गरेको छ।

गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म १ सय २४ वटा विवाद दर्ता भएका थिए । जस मध्ये १ सय ९ वटा विवाद फर्च्योट गरेको र १५ वटा विविद मिलाउनको लागि दुबै पक्षहरु संग छलफल चलिरहेको गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन् ।

त्यस्तै गत वर्षको निरुपण हुन बाँकी थप २६ वटा विवाद गरि कुल १ सय २४ वटा विवाद उपर छलफल गराई निरुपण गर्न सफल भएको पालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक चौधरीले बताइन् । गढवा गाउँपालिकाको न्यायिक समितिमा सबै भन्दा बढी जग्गाको वादविवादको उजुरी पर्ने गरेको संयोजक चौधरीले बताइन् । स-सानो बिषयमा समेत ठुलो विवाद हुने गरेको तर न्यायिक समितिले जटिल विवाद समेत मिलाउने गरेको बताइन् । न्यायिक समितिले १८ बर्ष सम्म पनि मिल्न नसकेको विवाद समेत सहजै फर्च्यौट गरेको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७९/०८० जग्गा विवाद सम्बन्धी ४५ वटा उजुरी दर्ता भएका थिए जस मध्ये ४१ वटा उजुरीको मेलमिलाप गराई फर्च्योट भएको छ । त्यसैगरी विवाह सम्बन्धी ७ वटा उजुरी परेको थियो जस मध्ये ६ वटा उजुरी फर्च्योट भएको छ। त्यसैगरी लेनदेन सम्बन्धी विवाद ३२ वटा उजुरी परेको थीयो भने ३१ वटा उजुरी मेलमिलाप बाटै फर्च्योट भएको छ। त्यसैगरी अंश विवादमा २८ वटा र विविधमा १२ वटा उजुरी दर्ता भएको थियो।

गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०७९/०८० मा परेको जम्मा उजुरी सहित कुल १ सय २४ उजुरी मध्ये १ सय नौ उजुरी फर्च्योट गरिएको छ भने १५ वटा उजुरीको बारेमा छलफल चलिरहेको र केही समयमा फर्च्योट हुने बिश्वास न्यायिक समितिको रहेको न्यायिक समितिका सदस्य देविलाल थारु कुमाल बताए । न्यायिक समितिले आर्थिक वर्षको असार २९ गतेसम्म मेलमिलापको माध्यमवाट ती विवादहरु निरुपन गरेको जनाएको छ । हाल सम्म ४ वटा मुद्दा इलाका प्रहरी कार्यालयमा सिफारिस गरिएको छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा पठाईएको ३ वटा, अन्य निकायमा सिफारिस गरिएको संख्या ३२ वटा, मिलापत्र भएको ४१ र आदेश तथा निर्णयबाट भएको २९ वटा मुद्दाहरु रहेको गढवा गाउँपालिका न्यायिक समितिले जानकारी दिएको छ।

गाउँपालिकामा उपाध्यक्ष शारदा कुमारी चौधरीको संयोजकत्वमा ३ सदस्य न्यायिक समिति रहेको छ । जसको सदस्यहरुमा वडा नं १ का वडा सदस्य देविलाल थारु कुमाल, ७ नम्वर वडा सदस्य रेखा थापा रहेका छन्। त्यसैगरी उजुरी प्रशासकमा शुरेश पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे