दाङको राप्ती गाउँपालिकाले युवाहरुलाई उद्यमशील बनाउँदै



दाङको राप्ती गाउँपालिकाले युवाहरुलाई उद्यमशील बनाउँदै

भालुवाङ १९ असार । दाङको राप्ती गाउँपालिकाले बेरोजगार युवाहरुलाई उद्यमशील बनाउन थालेको छ । समृद्ध नेपालका लागि स्वच्छ, कर्मठ र उद्यमी युवा भन्ने मुल नाराका साथ राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुर र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा युवाहरुलाई उद्यमशील बनाउन मंगलवार देखि राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम दिन सुरु गरिएको छ ।

युवाहरुलाई उद्यम सँग जोड्न तथा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको राप्ती गाउँपालिकाका प्रशासन शाखा अधिकृत विकास ज्ञवालीले जानकारी दिएका छन् । तालिमका लागि कुल ४ सय २ जना युवाहरुले आवेदन दिएकोमा पहिलो लटमा २५ देखि ४५ वर्ष उमेर समुहका ८७ जना युवाहरुलाई तालिम दिन लागिएको प्रशासन शाखा अधिकृत ज्ञवालीले जानकारी दिएका छन् ।

पहिलो लटको तालिममा सरसफाईजन्य सामाग्रीहरु फिनाइल, हार्तिक उत्पादन गर्न सिकाइने भएको छ । तालिममा बहिराहरुका लागि सांकेतिक भाषा सिकाउन दोभासेको समेत व्यवस्था मिलाइएको छ । दोभासेको भुमिका राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका चम्पा बुदा निभाइरहेकी छिन् । पहिलो लटको तालिम २०८० असार १९ गते देखि असार २५ गते सम्म सञ्चालन हुने छ भने तालिमको प्रशिक्षकमा मनोज खड्का र लक्ष्मण रेग्मी रहेका छन् ।

यसै क्रममा तालिमको मंगलवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । राष्ट्रिय युवा परिषद्का कार्यकारी सदस्य सन्दिप सापकोटाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन गर्दै अध्यक्ष विष्टले राप्ती गाउँपालिकाले यस आर्थिक वर्ष देखि उद्यमशीलता कार्यक्रमलाई जोड दिएको बताउँदै राप्तीका युवाहरुलाई कुनै न कुनै तालिम मार्फत उद्यमी बनाउने लक्ष्य राखेकोले सोही अनुरुप तालिम दिन सुरु गरिएको बताएका छन् । तालिम उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहजकर्ता मदन खड्काले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका प्रशासन शाखा अधिकृत विकास ज्ञवालीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे