शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पब्लिक एजुकेसन एकेडेमीमा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न



शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पब्लिक एजुकेसन एकेडेमीमा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

लालमटिया १ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका- २ बराखुटीमा रहेको पब्लिक एजुकेशन एकेडेमीले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दुई दिने शिक्षक प्रशिक्षण कार्यक्रम होटेल पौवा भालुबाङमा सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीको अध्यक्षता एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष हिमानन्द पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, शिक्षण सामग्री निर्माण, प्रयोग, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका जाँच, मूल्याङ्कन विधि, शिक्षणमा सूचना प्रविधिको प्रयोग, शिक्षा ,संस्कार र पेशागत दायित्व आदि विषयका बारेमा विद्यालयका शिक्षकशिक्षिकाहरुलाई प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विक, शिक्षक केशवराज आचार्य, देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापकद्वय रामबहादुर केसी र दिपेन्द्र खड्काले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि हिमानन्द पाण्डेले तालिममा सिकेका कुराहरू शिक्षकले कक्षाकोठामा प्रयोग गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका थिए।

तालिममा सहभागीको तर्फबाट शिक्षक बसन्त गुरुङ र शिक्षिका मुना गिरीले आफ्नो विचार राखेका थिए । विद्यालय सञ्चालक समितिका निवर्तमान अध्यक्ष जीवराज शर्मा र सदस्य शोभाखर भुसालले मन्तव्य राखेकाे कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक चम्पकराज कार्कीले गरेका थिए । तालिममा ४२ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे