राप्तीमा पहिलो दिन ४ हजार बढी बालबालिकाले दादुरा रूवेला विरूद्वको खोप लगाए



राप्तीमा पहिलो दिन ४ हजार बढी बालबालिकाले दादुरा रूवेला विरूद्वको खोप लगाए

भालुवाङ २६ जेठ । दाङको राप्ती गाउँपालिकामा बिहीबार देखि दादुरा रुवेला विरूद्वको खोप लगाउन सुरू गरिएको छ ।

जन्मेको ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई राप्ती गाउँपालिकाको ४८ वटा खोप केन्द्रबाट दादुरा रूवेला विरूद्वको खोप लगाउने कार्यक्रम अन्तरगत बिहीबार १० वटा खोप केन्द्रबाट ४ हजार १ सय ६ जना बालबालिकाले खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

जस अनुसार वडा नम्बर १ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ खोप केन्द्रमा २५९ जना मध्ये बालबालिकाले खोप लगाउने लक्ष्य राखिएकोमा १४८ जनाले मात्र खोप लगाएका छन् । त्यस्तै रिभर राप्ती भालुवाङमा २४९ मध्ये ३४० जना, वडा नम्बर २ को मुनलाइट मावि लालमटियामा ४०३ मध्ये ३६८ जना, वडा नम्बर ३ को सिद्वार्थ बोडिङ स्कुलमा ५७० मध्ये ६२८ जना, वडा नम्बर ४ को माध्यमिक विद्यालय माैरीघाटमा ५५२ मध्ये ५५० जना बालबालिकाले खोप लगाएका छन् ।

त्यसै गरि वडा नम्बर ५ को सर्वोदय मावि सिसहनियाँमा ६०० मध्ये ३०० जना, वडा नम्बर ६ को ज्ञानोदय मावि पत्थरगढवामा ६३६ जना मध्ये ६८० जना, वडा नम्बर ७ को शुभदर्पण एकेडेमी बड्का सिसहनियाँमा ४६४ मध्ये ४७० जना, वडा नम्बर ८ को शंकर मावि पिपरीमा ४२० जना मध्ये ३८० जना र वडा नम्बर ९ को मावि रूपाकोटमा २७० मध्ये २४२ जना बालबालिकाले खोप लगाएका छन् । पहिलो दिन १० वटा खोप केन्द्रबाट ४ हजार ४ सय २३ जना बालबालिकाले खोप लगाउनु पर्नेमा ३१७ जना बालबालिका खोप लगाउन नआएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।
राप्ती गाउँपालिकामा करिव १३ हजार ८ सय ४० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

यसै बीच खोप अभियानको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, डा. श्रवण कुमार चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कवर मगर, स्वमसेविका, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको सञ्चालन सिसहनियाँ स्वास्थ्य चाैकीका इन्चार्ज धनबहादुर खड्काले गरेका थिए ।

अहिले देशका विभिन्न जिल्लाहरुमा जस्तै दाङ जिल्लामा पनि दादुरा महामारी देखिएको छ। दादुरा रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यो रोग अत्यन्त संक्रामक रहेको र विषेश गरि ५ वर्ष मुनिका बालबालिकालाई यो र‍ोग छिटो सर्ने जोखिम भएको र यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता कारणले विरामीको ज्यान समेत जान सक्ने भएकोले सो जोखिम न्युनिकरण गर्न खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ ।महामारी फैलन सक्ने जोखिम रहेको ९ जिल्लामा खोप सञ्चालन गरिएको छ ।

दादुरा कोभिड – १९ भन्दा पनि तिब्र गतिले फैलन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई सार्न सक्ने भएकोले सम्पुर्ण अभिभावकहरूलाई दादुरा रूवेला खोप लगाउन आग्रह गरिएको छ । दादुराको भाईरस मानिसबाट मानिसमा मात्र सर्ने भएकोले भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रही बृद्धि हुने र श्वास नलि एवं अरु भित्री अंगहरूमा संक्रमण गर्ने गर्दछ। दादुरा रोग संक्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा, हाँछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने गर्दछ ।

ज्वरो आउनु र शरीरमा राताविमीरा देखा पर्नु दादुरा रोगका प्रमुख चिन्ह / लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षण चिन्हहरू (नाकबाट पानी वग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता) पनि देखिन सक्छन्। रोगीको सम्र्पकमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ । दादुरा संक्रमित व्यक्तिलाई डावर र विमिरा देखा पर्नु भन्दा ४ दिन अगाडी देखि र डाबर देखा परेको ४ दिन पछि सम्म अर्को व्यक्तिमा सर्ने गर्दछ ।

दादुरा रोग लागेपछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु, बिरामीलाई “भिटामिन ए ” अनिवार्य रुपमा खुवाउनु, दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा विरुद्धको खोप लिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे