अध्यक्षका छोराले कर्मचारी माथि हातपात गरेपछि प्यूठानकाे झिमरुक गाउँपालिकाको कामकाज ठप्प



अध्यक्षका छोराले कर्मचारी माथि हातपात गरेपछि प्यूठानकाे झिमरुक गाउँपालिकाको कामकाज ठप्प

प्यूठान २४ जेष्ठ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोराले प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथी हातपात गरेपछि कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारेका छन्।

अध्यक्ष पितबहादुर महताराका छोरा मिलनले कार्यकक्षमै पसेर प्रशासकीय प्रमुख रिजाललाई हातपात गरेको भन्दै कर्मचारीहरुको बैठकले खेद व्यक्त गरेको छ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष एमसीका छोरा मिलनले प्रक्रिया नपुगेको फाइल जबरजस्ति सदर गराउन खोज्दा कर्मचारीले नमानेपछि दुर्व्यवहार गरेको उनीहरुको आरोप छ।

कर्मचारीहरुको बैठकस्थलमै गएर उनले प्रशासकीय अधिकृत रिजाल र रोजगार सहायक दिपक जिसि लगाएतलाई हातपात गरेका थिए।त्यसक्रममा उनले कर्मचारीमाथी अपशब्द प्रयोग गरी गाली बेइज्जती समेत गरेका थिए।

हातपातमा उत्रिएका मिलनलाई पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोतको दाबी छ। गाउँपालिकामा दादागिरी मच्चाउने उनलाई कारबाही गर्न माग गर्दै कर्मचारीले कारबाही नभएसम्म अत्यावश्यक बाहेक सबै कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे