अत्यधिक गर्मी बढेपछि राप्तीका विद्यालयहरु ३ दिनका लागि बन्द, दादुरा रुवेला खोप ताेकेकै मितिमा हुने



अत्यधिक गर्मी बढेपछि राप्तीका विद्यालयहरु ३ दिनका लागि बन्द, दादुरा रुवेला खोप ताेकेकै मितिमा हुने

भालुवाङ २३ जेठ । अत्यधिक गर्मी बढेपछि दाङको राप्ती गाउँपालिका भित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु ३ दिनका लागि बन्द गरिएको छ ।

राप्ती गाउँपालिका गाउँशिक्षा समितिका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा मंगलवार बसेको आकस्मिक बैठकले जेठ २४ गते देखि जेठ २६ गते सम्म हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी ३ दिन विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् । विगत केहि दिनदेखि निरन्तर बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा गर्मीका कारण पठनपाठनमा समेत कठिनाई उत्पन्न भएको र अभिभावक तथा सामाजिक सञ्जालहरुमा समेत गर्मी बिदाको माग राखि स्थानीय सरकारलको ध्यानाकषर्ण गराएपछि गाउँशिक्षा समितिले ३ दिनका लागि विद्यालय बिदा गर्ने निर्णय गरेको हो ।

समितिले गरेको निर्णयलाई सामुदायिक, संस्थागत तथा धार्मिक सहितका सबै प्रकारका विद्यालयहरुलाई ३ दिन विद्यालय बन्द गर्न परिपत्र समेत गरिएको शाखा प्रमुख विकले जानकारी दिएका छन् । यसै बीच राप्ती गाउँपालिका स्वास्थ्य शाखाबाट जेठ २५ देखि ३० गते सम्म सञ्चालन गर्न लागेको दादुरा रुवेला खोपको लागि खोप केन्द्र निर्धारण गरिएका विद्यालयहरुले आफ्नो पालोको दिन विद्यार्थीहरुलाई सूचना प्रवाह गरी उपस्थित गराउन समेत समितिले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे