राप्तीका गाई तथा भैसीपालक किसानहरुलाई दुध बोक्ने स्टिलको क्यान वितरण



राप्तीका गाई तथा भैसीपालक किसानहरुलाई दुध बोक्ने स्टिलको क्यान वितरण

भालुवाङ २३ जेठ । दाङको राप्ती गाउँपालिकाले ९३ जना गाई तथा भैसीपालक किसानहरुलाई ७५ प्रतिशत अनुदानमा दुध बोक्ने क्यान वितरण गरेको छ ।

गाउँपालिकाको पशु सेवा शाखाले मंगलबार पालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि किसानहरुको आवश्यकताका आधारमा ५ र १० लिटरका क्यान बितरण गरेको छ । ९२ हजार ६ सय ३५ रुपैयाँको लगानीमा गाउँपालिकाले ९३ जना किसानहरुलाई पुग्ने गरि क्यान खरिद गरि वितरण सुरु गरेको छ । जसमा २५ प्रतिशत लगानी किसानको रहेको छ भने ७५ प्रतिशत लगानी गाउँपालिकाको रहेको पशुसेवा शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिएका छन् । त्यस्तै गाउँपालिकाका पशुपालक किसानहरुलाई दुध बजार सम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले अनुदानमा क्यान वितरण गरेको पशु सेवा शाखाका प्रमुख पौडेलले बताए ।

किसानहरुलाई पशुपालनमा अभिप्रेरित गर्नका लागि गाउँपालिकाले क्यान बितरण गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताएका छन् । व्यावसायिक रुपमा पशुपालन गरेका किसानलाई हौसला स्वरुप क्यान बितरण गरेको भन्दै अध्यक्ष विष्टले प्लास्टिकका भाँडाहरुमा लामो समय सम्म दूध राख्दा बिग्रने भएको हुँदा स्टिलको क्यानमा दुध राख्दा सुरक्षित हुने भएकाले पनि स्टिलको क्यान वितरण गरेको बताए । क्यान वितरणका लागि शाखाले यस अघि नै आवेदन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे