रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतद्वारा सदर



रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतद्वारा सदर

काठमाण्डाै २ जेठ । सर्वोच्च अदालतले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन अस्वीकार गरेको छ ।

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यस अघि चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । अदालतले टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको पाँच वर्षको कैद सजाय घटाएर तीन वर्ष कायम गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

२०७२ साल भदौमा भएको टीकापुर घटनामा मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत कैलाली एवम् उच्च अदालत दिपायलबाट रेशम चौधरीसहित ११ जना दोषी ठहर भएका थिए । चौधरी यसअघिको प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए । चौधरीले सांसदको शपथ ग्रहण गरेको केही दिनपछि सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएको थियो ।

थरुहट आन्दोलन चर्किँदा कैलालीमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गर्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । चौधरीले भने आफू निर्दोष रहेको र अदालतबाट न्यायको पर्खाइमा रहेको बताउँदै आएका थिए । चौधरीले जेलबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टीले गएको मङ्सिरमा भएको प्रतिनिधि सभा चुनावमा चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अहिलेको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । उनले चौधरी सहित टीकापुर हत्या प्रकरणमा जेल परेकाहरूलाई छुटाउन दबाब दिँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे