मोबाइल पसल लुटपात प्रति राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघद्वारा ध्यानाकर्षण
भालुवाङ ३ फागुन । काठमाण्डौको माछापोखरीमा आन्दोलनरत पक्षबाट मोबाइल पसलमा भएको लुटपाट तथा तोडफोड घटना प्रति राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले गम्भीर ध्यानाकर्षण गराएको छ । संघका सचिव गोपाल पोख्रेल बुधबार एक प्रेस विज्ञप्ति जारी गरि ध्यानाकर्षण गराएका हुन् ।
गत फागुन १ गते यातायात मजदुर संगठनले काठमाण्डौको माछापोखरीमा गरेको आन्दोलनमा सोही ठाउँमा रहेको २ ओटा मोबाइल पसलमा आन्दोलनकारीले पसलमा लुटपाट तथा तोडफोड गरेका थिए ।
उक्त घटना प्रति संघले घोर भर्त्सना गर्दै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कारबाहीको माग र पिडित मुबाईल व्यवसायी साथीहरुलाई उचित क्षतिपूर्तिको माग समेत गरेको छ ।
यसैबीच सोही घटनाको विरोधमा संघले बिहीबार दिउँसो १ बजे विरोध कार्यक्रमको आयोजना गरेको छ । विरोध कार्यक्रम अन्तरगत भालुवाङ देखि माैरीघाट सम्म मोटरसाइकल र्याली र भालुवाङमा विरोध सभा गर्ने संघका अध्यक्ष हरि खड्काले जानकारी दिएका छन् ।