लुम्बिनीमा मन्त्रालय बाँडफाँटमा असन्तुष्टि, मन्त्री केसीद्वारा पदभार ग्रहण गर्न अस्वीकार



भालुवाङ २९ माघ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी मन्त्री कृष्णा केसीले पदभार ग्रहण गरिनन्। मन्त्रालय बाँडफाँटको विषयमा पार्टीभित्रको असन्तुष्टिका कारणले उनले पदभार ग्रहण नगरेको पाइएको छ।

पार्टीभित्रको विवाद समाधान नभएसम्म आफूले पदभार ग्रहण नगर्ने उनले बताइन्। पुस २८ गते बिनाविभागीय मन्त्री बनेकी केसीले शनिबार मात्रै उक्त मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्। असन्तुष्ट बनेकी मन्त्री केसीले शनिबार नै राजीनामा दिएको विषय बाहिर आएको थियो। शनिबार मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको बताइए पनि पार्टी तथा मुख्यमन्त्री कार्यालयले यसलाई आधिकारिकता मानेनन्।

मन्त्री केसी आफै पनि शनिबार र आइतबार सञ्चारमाध्यमसँग सम्पर्कमा रहिनन्। शनिबार मन्त्री केसीको राजीनामा आएको खबर सञ्चारमाध्यमबाट सुनेको बताएका माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले पछि भने पार्टीमा राजीनामा नआएको बताएका थिए। मन्त्री केसीले पार्टीभित्र संसदीय दलमा केही छलफल नभएको र केही व्यक्ति बसेर मन्त्री बनाउने, जिम्मेवारी तोक्ने काम भएको भन्दै अहिले पदभार नगर्ने जनाएकी हुन्।

‘संसदीय दलको बैठक बसेर निर्णय भएपछि मैले के गर्ने भन्ने टुंगो लाग्छ। अहिलेको अवस्थामा म पदभार ग्रहण गर्दिनँ। पार्टी प्रणालीमा चल्नुपर्छ। मेरो यही विषयमा अडान हो ,’ उनले भनिन्। केसीले थपिन्, ‘संसदीय दलको बैठक बसेको छैन। कोही व्यक्ति बसेर कसैले शपथ लिए होला, सबै सांसदलाई थाहा छैन। छलफल भएकै छैन। कुनै निर्णय भएकै छैन। जिम्मेवारी तोकिएकै छैन। म नेपालगन्जमा छु, मलाई कसैले कुनै बैठक र कार्यक्रममा बोलाएकै छैन।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे