सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त



काठमाण्डाै २६ माघ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि आजै बिहीवार मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन् । अब आज मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् । सरकार गठनका लागि कम्तीमा २७ जना सांसदको समर्थन चाहिन्छ । कांग्रेसलाई सरकार गठनका लागि एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति वा माओवादीको साथ आवश्यक पर्छ । तर त्यहाँ माओवादी या नागरिक उन्मुक्ति पार्टीले गठबन्धन फेरेर सरकार बनेमा केन्द्रमा एमाले नेतृत्वको सत्ता गठबन्धन नै समस्यामा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे