लमही महोत्सव हेर्न उर्लियो जनसागर, आमाहरुलाई रुवाउने बद्रीले यस पटक भने नचाए
लमही २१ माघ । दाङ देउखुरीको लमहीमा सञ्चालित छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको शनिबार दशौँ दिन झन्डै १० हजार दर्शकहरुले अवलोकन गरेका छन् । नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बद्री पंगेनी आउने भएपछी र शनिबार भएकोले पनि गाउँ–गाउँबाट महोत्सव हेर्न दर्शकहरुको भिड लागेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन् ।
बेलुकाको करिव सवा ५ बजे स्टेजमा उक्लेका गायक पंगेनीले यस पटक लमही महोत्सवमा बुढी आमाहरुलाई नरुवाउने उद्घोष गर्दै रमाइला गितहरुलाई छमछमी नचाएका थिए । उनले कला चल्यो गला चल्यो मान्छे चलेन, भीरको बाटो, ससुरालीमा, झ्यारेको तालैमा, कान्छी ओई कान्छी, लाउ चेली सिन्दुर लाउ लगायत आधा दर्जन गीत गाएर दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । त्यस्तै कार्यक्रम त्यस्तै चर्चित मोडेल तथा डान्सर करिष्मा ढकाल, गायक तथा मोडेल विजय पुन, डान्सर सरिता दानकुटी, अस्मिता पुरी, दीपक वर्मा, अनुप बुढा मगर, भुलन गुप्ताको पनि प्रस्तुति रहेको थियो ।
महोत्सवको उद्घोषणमा कुशल कार्यक्रम संचालिका मञ्जु पौडेल रहेकी छिन् । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको आयोजना गरेको छ ।
यस्तै माघ २२ गते चर्चित गायिका प्रिति आले, कृष्ण रेउले, विजय पुन लगायतका कलाकारहरु आउने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् । महोत्सवमा अवलोकन गर्ने दर्शकहरु पनि बढ्न थालेका छन् । सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको छ ।

