प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्यो, ३ जना बेपत्ता



प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्यो, ३ जना बेपत्ता

चितवन ११ मंसिर ।  प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको हो ।

दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोका घाइते छन् । बेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।

घाइते मुकुन्दले पानीमा पौडिएर बाहिर आएको प्रहरीलाई जानकारी दिएका छन् । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ । पिकअप भ्यान पानीले डुबेर नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको चितवनका प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे