देशभर ३१ जनप्रतिनिधिकाे पद रिक्त, लुम्बिनी प्रदेशमा मात्रै १० वटा स्थानीय तहमा पद रिक्त



देशभर ३१ जनप्रतिनिधिकाे पद रिक्त, लुम्बिनी प्रदेशमा मात्रै १० वटा स्थानीय तहमा पद रिक्त

कोही डिभी परेर अमेरिका गए, कोही जागिर खोज्दै कोरिया !

काठमाडौं ११ मंसिर । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त भएकाे हाे ।

यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको छ । गत निर्वाचनमा निर्वाचित मकवानपुरको भिमफेदी गाउँपालिका ८ का वडाअध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका पुगेका छन् । घिसिङ अमेरिका हानिएपछि उनको स्थान १ भदौ ०७६ देखि रिक्त छ ।

यस्तै, संखुवासभा खाँदबारी नगरपालिका ५ का वडाअध्यक्ष बम बहादुर घले वडाअध्यक्ष पद त्यागेर जागिर खान भन्दै कोरिया गएका छन् । वडाअध्यक्ष नै कोरिया गएपछि ०७५ मंसिरदेखि खाँदबारी नगरपालिका वडा नं. ५ का वडावासी नेतृत्वविहीन छन् ।

तनहुँको भानु नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष प्रकाश मल्ल नागरिकता किर्ते गरेको अभियोगमा जेल परेका छन् । जनप्रतिनिधि नै किर्ते नागरिकता दिलाउने कार्यमा संलग्न भएपछि मल्लको पद गयो र २२ भदौ ०७७ देखि उनको स्थान खाली छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का श्रवण कुमार यादव भ्रष्टाचारको अभियोगमा निलम्बित छन् । यादवलाई निलम्बित भएपछि सम्मरीमाई गाउँपालिका–५ का वडावासी पनि ९ चैत ०७६ देखि नेतृत्वविहीन छन् ।

यस्तै, पाल्पाका जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको निधन भएपछि उनको स्थान ०५ मंसिर ०७६ देखि खाली छ । संघीय मामिला मन्त्रालयले गत कात्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो ।

हालसम्म ६१ जिल्लाबाट मात्र विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसमा २१ जिल्लाका बिभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको पाइएको मन्त्रालयले जनाएको छ । ‘बाँकी जिल्लामा रिक्त नभएर नआएको हुन सक्छ । तथापि हामीले पुनः पत्र पठाएका छौं,’ मन्त्रालयका शाखा अधिकृत महेश कुमार दाहालले अनलाइनखबरसँग भने ।

धेरै पद लुम्बिनी प्रदेशमा रिक्त

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् । लुम्बिनी प्रदेशको ७ जिल्लाका १० वटा स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ ।

प्रदेश नम्बर एकको चार जिल्लाका सात स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ ।

प्रदेश दुईको सप्तरीमा तीन वडा अध्यक्ष र रौतहटमा एक वडाअध्यक्ष पद रिक्त छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुई/दुई जिल्लाका दुई/दुई स्थानीय तहमा दुई/दुई वडाध्यक्षको पद खाली छ ।

रिक्त पदमा उपनिर्वाचन कहिले ?

रिक्त पदहरुको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । सोहीअनुसार गत कात्तिक पहिलो साता निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदको संख्या र स्थानको विवरण मन्त्रालयसँग माग गरेको थियो ।

उपनिर्वाचनको पूर्वतयारी स्वरुप स्थानीय तहका पदाधिकारीहरुको रिक्त रहेको पद र स्थानको विवरण संकलन गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ बताउँछन् ।

‘निर्वाचन गर्ने कि नगर्ने भन्ने सरकारको कुरा हो । आयोगको परामर्श लिने आफ्नो ठाउँमा छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘तर, कुन–कुन ठाउँमा कुन–कुन पद रिक्त छ भनेर पूर्व तयारीका लागि आयोगले सरकारसँग विवरण माग गरेको हो ।’

सरकारले यसअघि ०७६ संसिरमा रिक्त भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । त्यसबेला दाङ र भक्तपुरमा प्रदेशसभा तथा कास्कीमा प्रतिनिधिसभाको उपनिर्वाचन भएको थियो ।

धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।

साभार अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे