प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार,नवनियुक्त मन्त्रीले लिए शपथ (सूचीसहित)



काठमाडौं ३ माघ । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन लगायतलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन पनि गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीको शपथ लिएका छन् । नेकपा एमालेबाट डाक्टर विमला राई पौडेलले परराष्ट्र, हरि उप्रेतीले रक्षा, पदम गिरीले स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीकाे रूपमा शपथ लिएका छन् । एमालेबाट यसअघि नै विनाविभागीय मन्त्री बनेका ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति र राजेन्द्र राईले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राप्रपाबाट धुव्रबहादुर प्रधानले कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकास मन्त्रीको शपथ लिए । राप्रपाकै दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको शपथ लिएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डाक्टर तोसिमा कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छिन् ।

गएकाे पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । ११ गते नै उपप्रधानमन्त्री एवम् अर्थ मन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृह मन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए । यसअघि विनाविभागीय मन्त्रीको शपथ लिनुभएका जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । वन तथा वातावण र युवा तथा खेलकुद मन्त्रीको अझै टुङ्गो लागेको छैन । यी दुई मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जिम्मेवारीमा रहेका छन् ।

 

यस्ताे छ सूची–

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे