तुलाराम घर्तीको शिक्षकदेखि लुम्बिनी प्रदेशको सभामुख सम्मको यात्रा



तुलाराम घर्तीको शिक्षकदेखि लुम्बिनी प्रदेशको सभामुख सम्मको यात्रा

भालुवाङ ३ माघ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित तुलाराम घर्ती लुम्बिनी प्रदेशसभाको सभामुखमा निर्विरोध रूपमा निर्वाचित भएका छन् । प्रदेशसभा सचिवालयमा सोमबार गरेको मनोनयनमा सभामुखका लागि घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

यसअघि २०७४ सालको निर्वाचनबाट पनि पाल्पा २(ख) बाट निर्वाचित घर्ती प्रदेश सभामा माओवादी केन्द्रको तर्फबाट प्रमुख सचेतक थिए । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित घर्ती लुम्बिनी प्रदेशको दोस्रो सभामुख हुने अवसर पाएका छन् । अघिल्लो कार्यकालमा माओवादी केन्द्रकै पूर्ण बहादुर घर्ती सभामुख थिए ।

एसएलसीसम्मको अध्ययन गरेका घर्तीले राजनीतिमा लाग्नुभन्दा अघि केही समय अध्यापन समेत गराएका थिए । २०२५ साल साउन ५ गते रोल्पा नगरपालिका ३ मा जन्मिएका घर्ती माओवादी ‘जनयुद्ध’मा बसन्त उपनामले चिनिन्थे । उनले ‘जनयुद्ध’को कमाण्डर भएर समेत जिम्मेवारी निभाएका थिए ।

घर्ती २०४२ मा सपरिवार बसाइसराइ गरी कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा बसाइ सरी आए पनि २०६८ सालदेखि भने पाल्पामा बसोबास गर्दै आएका छन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा बसोबास गर्दै आएका घर्तीले २०४७ सालमा नेकपा मसालबाट राजनीति सुरू गरेका थिए ।

२०४८ सालमा नेकपा मसालको इलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव रहेका घर्ती २०५१ सालमा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य भए । २०५२ सालमा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ती २०५३ सालमा कपिलवस्तु फर्किएर भूमिगत राजनीति सुरू गरे ।

माओवादी जनयुद्धमा ९ वर्ष भूमिगत रहेका घर्तीले धेरै समय पाल्पामै बिताए । २०५४ सालदेखि ६० सालसम्म पाल्पामा काज सरूवा भएका घर्ती मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष, मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष, पाल्पा पश्चिम कमाण्ड इन्चार्ज र पार्टीको जिल्ला सचिव समेत भए ।

२०६१ सालमा पाल्पाबाट रूपन्देही सरूवा भएका घर्ती १ वर्ष कपिलवस्तु इन्चार्ज भएर काम गरे । २०६२ सालमा भने उनलाई दाङ देउखुरीमा जनआन्दोलन कमाण्ड इन्चार्ज बनाएर पठाइएको थियो । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा घर्ती पाल्पा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।

संविधान सभा सदस्यमा पराजित भएपछि २०६५ सालमा नेपाल मगर संघको केन्द्रीय महासचिव र २०७० सालमा मगर संघको केन्द्रीय उपाध्यक्ष बनेर काम गरे । २०७० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बने भने २०७५ सालमा तत्कालीन नेकपाको केन्द्रीय सदस्य बने । नेकपा विभाजन पनि २०७८ सालमा माओवादी पोलिटब्युरो सदस्यमा चयन भएका घर्ती माओवादी केन्द्रको पाल्पा इन्चार्ज समेत रहेका छन् ।

-सेताे पाटीबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे