लुम्बिनी प्रदेश सरकारले माघ २ गते माघी मिलन कार्यक्रम गर्ने



लुम्बिनी प्रदेश सरकारले माघ २ गते माघी मिलन कार्यक्रम गर्ने

भालुवाङ २९ पुस । लुम्बिनी प्रदेश सरकारले माघ महोत्सव मनाउने भएको छ। आगामी माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी माघ महोत्सव मनाउन लागिएको हो। माघ २ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदासमेत दिएको छ।

माघे संक्रान्ति (माघ पर्व)का अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम, २०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लिला गिरीले सचिवहरुलाई निर्देशन दिएका छन्। मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा. दिपक काफ्ले र विभिन्न मन्त्रालयका सचिवहरुले मातहतका मन्त्रालयको अवस्थाबारेमा जानकारी गराए। बैठकमा मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसीको पनि उपस्थिति थियो।

मन्त्रालय र मातहतका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन मुख्यमन्त्रीले सचिवहरुलाई निर्देशन दिए। माघ महोत्वसका अवसरमा साँस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरुलाई उत्कृष्टताका आधारमा प्रोत्साहन स्वरुप पुरस्कृतसमेत गर्ने गरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए।

महोत्सवका लागि मूल आयोजक समिति, व्यवस्थापन समितिलगायतका समितिहरु समेत गठन गरिएको छ। माघी उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा दुई वटा थारु झाँकी, २ वटा मगर झाँकी र १/१ वटा गुरुङ र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुति गर्ने टोलीलाई प्रतिटोली २० हजार रकम यातायात खर्चबापत मन्त्रालयले उपलब्ध गराउने गरी तयारी भइरहेको छ।

यसैगरी लुम्बिनी प्रदेश सरकारले यही माघ १ गतेका दिन योग दिवस मनाउने भएको छ। योग, वैकल्पिक चिकित्सालगायतको प्रवर्द्धनका लागि प्रदेशमा विभिन्न कार्यक्रमसमेत गरिने भएको छ। यसै गरी माघ २ गते नै भुकम्प सुरक्षा दिवससमेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे