तराईका धेरैजसो जिल्लामा कठ्याङ्ग्रिँदाे चिसो, शीतलहर अझै एक/दुई दिन लम्बिने



तराईका धेरैजसो जिल्लामा कठ्याङ्ग्रिँदाे चिसो, शीतलहर अझै एक/दुई दिन लम्बिने

काठमाण्डाै २२ पुस । तराई मधेसका धेरैजसो जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहर अझै एक/दुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ ।

यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । यस्तै, अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै फरक छैन ।

अधिकतम र न्यूनतम तापक्रम झण्डैझण्डै उस्तैउस्तै छ । सिमरादेखि नेपालगञ्जका धेरैजसो क्षेत्रमा मध्यम किसिमको शीतलहर र नेपालगञ्जदेखि पश्चिम तराईका जिल्लामा मन्द शीतलहर चलेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

यो अवस्था अझै एक/दुई दिन रहिरहने अनुमान गरिएको उनले बताए । ‘शीतलहरको पूर्वानुमान गर्न निकै कठिनाइ छ, त्यसैले यो कति दिनसम्म रहन्छ भनेर हामीले तोकेरै भन्न सकिने अवस्था छैन ।

तर, पछिल्लो अनुमानमा अझै एक/दुई दिन रहने देखिएको छ । यसपछि हामी फेरि पूर्वानुमान गरी जानकारी गराउने छौँ ’उनले भने । शीतलहर चलेका बेला बिहान, दिउँसाे र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदाे चिसो हुन्छ ।

अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ । यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ ।

सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ । आगो ताप्दा आगलागीको सम्भावना हुने तथा हावा नछिर्ने गरी झ्याल ढोका बन्द गरेर हिटर र कोइला बाल्दा निस्सासिएर ज्यान जाने जोखिम हुने हुँदा सावधानी अपनाउन विज्ञको आग्रह छ ।

बिहानदेखि बेलुकासम्म नै बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसोका कारण घर बाहिर निस्कनै समस्या भएको छ भने बजार पसल पनि बन्द छन् । धेरैजसो विद्यालय पनि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे